काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका उनले सरकारको नेतृत्व लिएदेखि नै आफूलाई हटाउन खोजिएको उल्लेख गरे । आफ्नो जादुमय गतिविधिले त्यो सम्भव हुन नदिएको उनले बताए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखेको सुनाए । हट्छ कि भन्ने चिन्ता नलिन उनले पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे ।
सरकारमा रहँदासम्म भ्रष्टाचार, सामाजिक न्याय र समृद्धिका निम्ति आफूले काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
उनले सरकारमा रहँदासम्म सत्तारूढ दलहरूबीच भएको समझदारीलाई इमानदारितापूर्वक कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि दोहोर्याए । सरकार कायम रहने भन्दै उनले सोहीअनुसार ढुक्क भएर काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए ।