काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्ड मोदीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय गरेको हो।
मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्रीको भ्रमणका लागि तयारी सुरु भएको छ। भारत जानका लागि आवश्यक टोली बनाउने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। यद्यपि टोली कति जनाको बनाउने भन्ने यकिन भएको छ।
मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले शनिबार शपथ लिने तयारी छ।
प्रधानमन्त्री प्रचण्डसँग बुधबार टेलिफोनमा कुराकानी गरेर शपथ ग्रहण समारोहमा सहभागी हुन निम्तो दिएको ती अधिकारीले बताए। प्रचण्डसँगको फोनवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘न्यानो शुभकामनाका लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारी सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।’
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले यसपटक बंगलादेश, श्रीलंका, भुटान, नेपाल र मोरिससका नेताहरूलाई आफ्नो शपथ ग्रहणमा निम्तो दिएका छन्।
भारतमा हालै सम्पन्न लोकसभा निर्वाचमा मोदीको भारतीय जनता पार्टीले एकल बहुमत पाउन सकेन। भाजपा सम्मिलित गठबन्धनका साझेदारको समर्थन पाएर उनी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन्।
मोदी लगातार तीन कार्यकाल प्रधानमन्त्री हुने तेस्रो भारतीय नेता बन्दैछन्। यसअघि भारतीय कांग्रेस पार्टीका तर्फबाट जवाहरलाल नेहरू निरन्तर तीन कार्यकाल प्रधानमन्त्री भएका थिए। नेहरू सन् १९५२ मा भएको पहिलो लोकसभा चुनावदेखि १९६४ प्रधानमन्त्री भएका थिए।
मोदी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा प्रधानमन्त्री नियुक्त भएका थिए। अघिल्ला दुई कार्यकाल भाजपाको एकल बहुमतबाट प्रधानमन्त्री बनेका मोदीलाई यसपटक भने विभिन्न साना दलको साथ लिनुपरेको छ। ५४३ सदस्यीय लोकसभामा भाजपा २४० सिटमा निर्वाचित भएको छ। भारतमा एकल सरकार बनाउन २७२ सिट चाहिन्छ। भाजपा नेतृत्वको एनडीए गठबन्धन २९३ सिटमा निर्वाचित भएको छ।