काठमाडाैं– दक्षिण कोरियाको राजधानी सोलमा सरकारी सुरक्षा अधिकारीहरूले स्थानीयवासीलाई घरबाट बाहिर निस्किँदा होस पुर्याउन र सावधानी अपनाउन अपिल गरेका छन्। उनीहरूले कुनै पनि अज्ञात वा शंकास्पद वस्तुहरूको प्रयोग गर्न र नछुन पनि चेतावनी दिएका छन्।
केही दिनअघि दक्षिण कोरियाको आकाशमा सयौं बेलुन(गुब्बारा)हरू उडिरहेका थिए। दक्षिण कोरियाका सुरक्षा अधिकारीहरूले ती बेलुनलाई जमिनमा गिराए। ती बेलुनहरूमा कुनै त्यस्तो हानिकारक वस्तुहरू त थिएनन् तर ति सब फोहोरले भरिएका थिए।
मंगलबार राति त्यस्ता करिब २६० वटा बेलुनहरू जमिनमा खसेका थिए। प्लास्टिकमा फोहोरहरू राखेर त्यसलाई बेलुनमा बाँधेर दक्षिण कोरियातिर उडाइएको थियो।
सुरक्षा अधिकारीहरूको अनुसन्धानमा ती बेलुनहरू उत्तर कोरियाले पठाएको हो। यो घटनाले उत्तर र दक्षिण कोरियाबीच ६० वर्षदेखि चल्दै आएको ‘प्रोपोगान्डा वार’को सम्झनालाई ताजा बनाइदिएको छ। उत्तर कोरियाले आफ्नो विरोधमा दक्षिण कोरियाले गरिरहेको ‘पर्चाबाजी’को जवाफ दिने भनेर चेताइरहेको थियो।
सन् १०५०को दशकमा यी दुई देशबीच युद्ध चर्किएको थियो। त्यो बेला दुवै देशहरूले एकअर्काविरुद्ध लेखिएका पर्चाहरू यस्तै बेलुनमार्फत् एकअर्को देशको जमिनमा खसाउँथे। त्यो बेला संयुक्त राष्ट्रसंघको शान्ति सेनाले पनि उत्तर कोरियामा त्यस्ता चेतावनीयुक्त पर्चाहरू खसालेको थियो। त्यसपछि उत्तर कोरियाले पनि संयुक्त राष्ट्र संघीय सेनालाई नै लक्षित गरिएका पर्चाहरू दक्षिण कोरियातिर पठायो।
१९५३को जुलाई २७ मा दुवै देशबीच युद्धविराम सम्झौता हुँदासम्म २८० करोड पर्चाहरू एक अर्को देशको जमिनमा छरिएका थिए। यी पर्चाहरू सामान्य भने थिएनन्। यी यति ठूला ठूला हुन्थे कि त्यसले पूरै कोरियाली प्रायद्वीलाई २० पटक भन्दा बढीपटक पूरै ढाकिदिएको थियो। मान्छेका ध्यान खिच्नका लागि ती पर्चाहरूको रंग निकै चम्किलो बनाइन्थ्यो र धेरैजसो रातो रंगका हुन्थे। त्यसमा एकअर्का देशलाई ‘आत्म समर्पण’का लागि सन्देश र चेतावनीहरू लेखिएका हुन्थे।
१९९५को युद्धविराम सम्झौतापछि पनि यी दुईदेशबीच यस्तो पर्चावाजी रोकिएको छैन। बरु त्यसले अनेक नयाँ नयाँ रुपमा एकअर्काविरुद्ध ‘वाकयुद्ध’ छेडिरहेको छ। त्यसपछिका पर्चाहरूमा दुवै देशका शासकहरूविरुद्ध विभिन्न आलोचना र टिप्पणीहरू लेखिएका छन्।
सन् १९९१मा भएको ‘इन्टर कोरियन बेसिक एग्रिमेन्ट’ तथा सन् २०००मा भएको ‘इन्टर कोरियन एग्रिमेन्ट अन दी सेसेशन अफ होस्टाइल एक्ट’मा हस्ताक्षरपछि दुवै देशले ‘पर्चा युद्ध’ रोकेका थिए।
२००७मा दक्षिण कोरियाली सुरक्षा संयन्त्रले उत्तर कोरियाली प्रचार सामग्रीहरू रहेका त्यस्ता पर्चाहरू संकलन गर्ने काम रोकिदियो। तर, दुवै देशले एकअर्काविरुद्ध लेखिएका पर्चाहरू भने आम नागरिकलाई बाँड्न थाले। त्यो भनेको कुनै पनि कार्यक्रमहरूमा दिइने उपहार वा विद्यालयस्तरका प्रतियोगिताहरूमा बाँडिने शैक्षिक सामग्रीहरूमा पनि ती पर्चाहरू समाप्त भए।
यसरी एकअर्को जमिनमा पर्चा बाँड्ने काम त समाप्त भयो तर ‘पर्चा’हरू भने सकिएनन्। यी सम्झौताहरूपछि पनि दक्षिण कोरियाली नागरिक समाजहरूले उत्तर कोरियाली शासकहरूलाई त्यस्ता धेरै संकेतात्मक पर्चाहरू पठाएका थिए। उनीहरूले चाउचाउका तैयारी कपहरू, एक अमेरिकी डलर अनि बिलहरू तथा धेरैजसो पश्चिमा उत्पादनहरू पठाएर उत्तर कोरियालीलाई भड्काउन खोज्थे। उत्तर कोरिया पश्चिमा राष्ट्रहरूको विरोधी हो। दक्षिण कोरियालाई भने यी शक्ति राष्ट्रहरूले समर्थन गर्छन्।
सन् २०१५मा उत्तर कोरियाले चौथो परमाणु हतियार परीक्षण गरेको थियो। त्यसको जवाफमा दक्षिण कोरियाली प्रशासनले उत्तर कोरियाविरुद्ध ‘स्पीकर प्रशारण’ सुरु गरेको थियो।
दुई देशको सीमानामा सयौँ माइल टाढासम्म घन्किने यी लाउड स्पीकरहरूमा उत्तर कोरियाली नागरिकमाथि त्यहाँका शासकहरूले गरेको शोषण, दमन र उत्तर कोरियामा भइरहेको मानवअधिकार हननका बारेमा आलोचनाहरू बज्थे। त्यसको बदलामा उत्तर कोरियाले फेरि दक्षिण कोरियाविरुद्ध ठुलो परिणाममा पर्चाहरू बाँड्न थाल्यो।
सन् २०१८मा फेरि दुवै देशका शासकहरूले त्यस्ता पर्चा बाँड्ने र लाउड स्पीकर बजाउन रोक्नेसम्बन्धी एउटा सम्झौता गरे। तर, पनि नागरिकस्तरबाट भने एकअर्को देशविरुद्ध यस्ता गतिबिधिहरू रोकिएनन्।
यो पर्चायुद्ध चलिरहँदा फेरि अब कोरियाली आकाशमा ‘फोहोर’ले भरिएका बेलुनहरू नाच्न थालेका छन्। यसबाट दक्षिण कोरियाली नागरिकमा फेरि ‘युद्ध’को भय सुरु भएको छ। यहाँका युवाहरूले त जुनसुकै बेला पनि उत्तर कोरियासँग लड्नुपर्छ भनेर आ(आफ्नो तयारी गरिसकेका छन्। लडाकु दस्ताहरू निर्माणदेखि कमसेकम युद्धको प्रारम्भिक अवधिसम्मका लागि भोक मेट्नका लागि उनीहरूले तयारी खानाहरूको समेत व्यवस्थापन गरिरहेका छन्।