काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल झलनाथ खनाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीविरुद्ध मुलुकभरी अभियान चलाउने भएको छ । ओलीले पालैपालो आफ्नो समूहका नेतामाथि कारबाही गर्न थालेपछि एमालेको खनाल र नेपाल समूहले ओलीविरूद्ध अभियान चलाउने निर्णय आज गर्दैछ । आज त्यो निर्णय गर्न समूहको स्थायी समिति बैठक बस्दैछ ।
सर्वोच्चले २३ फागुनमा गरेको फैसलाअनुरूप अध्यक्ष ओलीले पार्टी सञ्चालन नगरी स्वेच्छाचारी ढंगले गतिविधि गरेको तथा जिम्मेवार नेताहरूमाथि कारबाही गरेको विषयलाई तलैसम्म स्पष्ट पार्न अभियान घोषणा गर्न लागिएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।
अध्यक्षको एकलौटी कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समूहले यसअघिनै गरिसकेको छ । देशव्यापी समानान्तर संगठन निर्माण पनि यो समूहले गरिहरेको छ । समूहले राजधानीमा ओलीविरुद्ध अभियानको घोषणा गर्नेछ।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई ६ महिना साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेका छन् ।
बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गर्ने भएको छ। खनाल–नेपाल समूहले अभियानमा गत ४ र ५ चैतमा गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित कार्यपत्रलाई विस्तृत रूपमा दस्ताबेजका रूपमा तयार पारेर पार्टीको तल्लो तहसम्म छलफल गर्ने योजना बनाएको छ।
अदालतले पार्टीलाई पुरानै अवस्थामा फर्काए पनि ओलीले त्यसको कार्यान्वयन नगरेको ठहर आफ्नो समूहले गरेको स्पष्ट पारेका छन्। फैसला कार्यान्वयन गर्दै पार्टी एकताको रक्षा गर्न देशभरका पार्टी कार्यकर्तालाई आह्वान गर्ने निर्णय भएको उनले बताए ।
ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौँ महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही भएको ठहर गर्दै भत्र्सना र निन्दा गरेको छ ।