वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने

राम्रो अनलाइन     ०५ जेठ २०८१, शनिबार
वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने

 

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 

पार्टी निकट एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले नेपाली समाजको ठोस वस्तुगत अवस्था पूँजीवादी भएकाले त्यसको विकल्पमा समाजवादी क्रान्ति र आर्थिक रुपान्तरण कायम गर्नुपर्नेमा जोड दिए । 

कुनै पनि समाजमा क्रान्तिको स्वरुप वस्तुगत अवस्थाले मात्र निर्धारण गर्ने बताउँदै उनले भने, ‘अझै पनि कतिपय वामपन्थी साथीहरु समाजवादी कार्यक्रम अघि सार्न तयार हुनुहुन्न, यो क्रान्तिकारी कार्यदिशाबाट दक्षिणपन्थी दिशातिर भड्किएको चिन्तन हो । यस्तो चिन्तनले वस्तुगत यथार्थलाई देख्दैन ।’

जनताको बहुदलीय जनवादलाई नै लक्ष्य बनाउनपर्नेमा जोड दिँदै नेता खनालले जबजको रक्षा र विकास गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भने । 

विगतमा जनताको अग्रगति र प्रगतिको मुख्य बाधक नै निरङ्कुश राजतन्त्र र सामन्तवाद रहेको बताउँदै उनले नेपाली समाजको आधारभूत पक्षहरूमा नै परिवर्तन आएकाले अब समाजवादी कार्यक्रमका माध्यमबाट जनता र राष्ट्रलाई अग्रगतितर्फ लैजानपर्ने उल्लेख गरे । 
 

प्रतिक्रिया