बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै

राम्रो अनलाइन     ३१ वैशाख २०८१, सोमबार
बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै

 

मन्थली– रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा सम्बन्धन प्राप्त यस शिक्षालयको नेतृत्वले शैक्षिक गुणस्तरलाई ध्यान नदिँदा खस्कँदै गएको सरोकारवालाहरुले बताएका छन्।

कृषि, भेटेरिनरी, फुड एण्ड डेरी टेक्नोलोजी गरी तीना विषयमा पठनपाठन हुने यस शिक्षालयमा प्रत्येक विषयमा हरेक वर्ष ४०/४० जना भर्ना हुने सङ्ख्या निर्धारण गरिए पनि पर्याप्त प्रचारप्रसारको अभावमा उक्त सङ्ख्या पूरा हुन सकिरहेको छैन ।

फुड एण्ड टेक्नोलोजीमा गत वर्ष एक जना पनि विद्यार्थी भर्ना भएनन् । नेतृत्वको फितलो प्रशासन, कर्मचारीमा समन्वयको कमी, शिक्षकलाई परिचालनको कमी, लामो समयदेखि सरोकारवालालाई छोटो अवधिको तालिमको अभाव, शिक्षालयका बारेमा प्रचारप्रसारको अभाव र जागिरे मानसिकताले विद्यार्थीलाई सक्षम बनाउन नसकेर गुणस्तर खस्किँदै गएको सञ्चालक समितिका एक सदस्यले बताए । 

प्रमुख जिल्ला अधिकारी सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था भएको उक्त शिक्षालयको गुणस्तर खस्कँदै गएपछि पछिल्लो सयममा प्रजिअले केही सुधारका प्रयास गरेको पाइन्छ । त्यसमध्ये यसअघि केही पालिकामा प्रचारप्रसारका कार्यक्रम गरेको, सरोकारवाला र एसइई दिएर बसेका विद्यार्थीसँग अन्तक्र्रियात्मक कार्यक्रमको आयोजना गरिएको थियो । 

दीगो विकासका लागि दक्ष मानवीय पुँजी निर्माण र मानवसंशाधन व्यवस्थापनको दीर्घकालीन लक्ष्य कसरी हासिल गर्न सकिन्छ भन्नेबारेमा जीवन विज्ञानका प्रशिक्षक सन्तोष खड्का र शशिश्री पौडेलले विद्यार्थी तथा सरोकारवालालाई राखेर जानकारी गराएका छन् । 

प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले यस बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको निर्धारित सङ्ख्या पनि नपुग्ने अवस्था सिर्जना भएको र फुड एण्ड टेक्नोलोजीमा विद्यार्थी भर्ना नभएको वर्तमान अवस्थामा जिल्ला र पालिकास्तरमा यसको प्रचारप्रचारको अभियान थालिसकिएको बताए ।

उनले बढीभन्दा बढी विद्यार्थीलाई आकर्षण गरेर गुणस्तरीय शिक्षा दिनेगरी शिक्षालयले शैक्षिक क्यालेन्डर बनाएर आफ्नो अभियान सञ्चालन गर्न शिक्षालयलाई निर्देशन दिइसकेको पनि बताए । कार्यक्रमका अवसरमा प्राविधिक शिक्षालयका प्रमुख वैकुण्ठ श्रेष्ठले शिक्षालयको सुधारका लागि आफूले आवश्यक प्रयास गरिरहेको बताए । 
 

प्रतिक्रिया