पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न कांग्रेस प्रवक्ता डा महतको आग्रह

राम्रो अनलाइन     १४ वैशाख २०८१, शुक्रबार
पार्टी सङ्गठनलाई केन्द्रमा राखेर काम गर्न कांग्रेस प्रवक्ता डा महतको आग्रह


काठमाडौँ–नेपाली कांग्रेसका  प्रवक्ता डा प्रकाशशरण महतले पार्टी पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको भ्रातृ संस्था नेपाल किसान महासङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले पार्टी बलियो भएमात्रै नेता कार्यकर्ता बलियो हुनेभन्दै पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । अहिलेको परिवेशमा पार्टीभन्दा व्यक्तिगत प्रचारले प्रश्रय पाइरहेको भन्दै त्यस्ता कार्यले सङ्गठनको हित नगर्ने उनको भनाइ थियो । 

प्रवक्ता डा महतले भने, ‘व्यक्तिवाद होइन, सङ्गठनलाई केन्द्रबिन्दुमा राखेर काम गर्न जरूरी छ । तबमात्रै सङ्गठन बलियो वा विस्तार भएर पार्टीको लोकप्रियता बढ्दै जान्छ । पार्टी बलियो भएमा त्यसबाट सबैले फाइदा लिने अवस्था बन्छ ।’

त्यस्तै, पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई आआफ्नो दायित्व पूरा गर्ने गरी अगाडि बढ्न उनले आग्रह गरे ।  ‘राजनीतिक दलको भ्रातृ र शुभेच्छुक संस्थाको महत्व भनेकै पार्टीको विचारलाई सम्बन्धित क्षेत्रमा पुर्‍याउने हो । त्यसैले नेपाल विद्यार्थी सङ्घ, तरुण दल, किसान सङ्घ र अरु सबै सङ्गठनले आफ्नो लक्षित वर्गमा पार्टीको विचारलाई लिएर कांग्रेसको सङ्गठनलाई विस्तार गर्नुपर्छ’, उनले भने। 

पूर्व अर्थमन्त्रीसमेत रहेका डा महतले ६५ प्रतिशतभन्दा बढी किसान भएको देशमा कूल ग्राहस्थ्य उत्पादन (जिडिपी) मा २५ देखि २६ प्रतिशत कृषिको योगदान रहेको र त्यो विस्तारै घट्दै जानु चिन्ताको विषय हो भन्दै किसानका समस्या समाधान गर्न लाग्न जरूरी रहेको धारणा राखे। 

प्रतिक्रिया