काठमाडौं– भारतमा गाडी दुर्घटना हुँदा ७ जना नेपाली सहित ८ जनाको मृत्यु भएको छ। उत्तराखण्ड नैनीताल जिल्लाको बटालघाट क्षेत्रमा सोमबार राति साढे १० बजे गाडी दुर्घटना भएको हो। दुर्घटनामा ३ जना नेपाली घाइते भएको भारतीय मिडिया टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ। मृत्यु हुनेमा नेपालका ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी रहेका छन्।
यस्तै ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल बस्नियत र राजेन्द्र भारतीय ( चालक) रहेका छन्। घाइते हुनेमा शान्ति चौधरी, छोटु चौधरी र प्रेमबहादुर रहेका छन्। उनीहरू सोही ठाउँमा उपचार भइरहेको छ। मृतक र घाइते नेपालका कुन जिल्लाका हुन् भन्ने खुलेको छैन। केही भारतीय सञ्चारमाध्यमले महेन्द्रनगरका रहेको उल्लेख गरेको छ।
गाडी सडकबाट २ सय मिटर तल खाडलमा खसेको छ। दुर्घटनास्थल नैनिताल जिल्लाको सदरमुकामबाट करिब ६० किलोमिटर टाढा रहेको बताइएको छ। दुर्घटनामा परेकाहरुले बेतालघाटको उन्चाकोट गाउँमा जलजीवन मिशन आयोजनामा काम गर्थे। काम सकिएपछि सोमबार साँझ उनीहरू रामनगर हुँदै चम्पावत जिल्लाको टनकपुरमा घर फर्कन गाडी बुकिङ गरेका थिए।