हनुमन्ते खोलामा रगताम्मे अवस्थामा भेटियो एक युवकको शव

राम्रो अनलाइन     २१ फागुन २०८०, सोमबार
हनुमन्ते खोलामा रगताम्मे अवस्थामा भेटियो एक युवकको शव

भक्तपुर–  मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ । इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौँ तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ । 

खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिएको र थापाको शव उत्तानो परेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी वसन्त पाठकले घटनाको अनुसन्धान भइरहेको र थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको जानकारी दिए । 

उनले दुर्घटना हो कि हत्या हो भन्नेबारेमा शव परीक्षणको रिपोर्ट आएपछि मात्रै भन्न सकिने बताए । प्रारम्भिक अनुसन्धानमा मृतक थापा विवाहको पार्टीमा गएर फर्किएको भन्ने जानकारी प्राप्त भएको र मृतकको टाउको तथा अनुहारमा चोट रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया