लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

राम्रो अनलाइन     १८ फागुन २०८०, शुक्रबार
लण्डनको एक अपार्टमेन्टमा भीषण आगलागी, ११ जना अस्पताल भर्ना

लण्डन– लण्डनको साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रबार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लण्डनको दक्षिणपश्चिममा रहेको नेचुरल हिस्ट्री म्युजियम नजिकै एम्परर्स गेटमा रहेको अपार्टमेन्टमा आगलागी भएपछि पाएको सूचना लगत्तै १५ वटा दमकल र करिब १०० जना अग्निनियन्त्रकलाई घटनास्थलमा खटाइएको थियो । 

लण्डन फायर ब्रिगेडका अनुसार पाँच तल्ले भवनको भुइँतलाको आधा भाग उनीहरु आइपुग्दा आगोले जलेको थियो । उनले भने, ‘भुइँतलादेखि माथिल्लो तला र छानासम्म आगो फैलिएको छ ।’ दमकल तथा अग्नि नियन्त्रण अधिकारीहरूले आगोलाई नियन्त्रणमा लिन कडा मेहनत गरिरहेका छन् । 

‘आगलागिलार्ई नजिकैका भवनहरूमा फैलनबाट रोक्न काम भइरहेको छ,’ घटनास्थलमा रहेका स्टेशन कमान्डर स्टिभ कोलिन्सले भने । 

पाँच जनालाई भर्‍याङ प्रयोग गरेर उद्धार गरिएको थियो भने करिब १३० बासिन्दालाई घर र वरपरका भवनबाट बाहिर निकालिएको थियो । धुवाँको मुस्लोका कारण स्वासप्रश्वासमा समस्या भएका करिब ११ जनाको उपचारका लागि अस्पताल लगिएको दमकल सेवाले जनाएको छ ।
 

प्रतिक्रिया