व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह

राम्रो अनलाइन     १६ फागुन २०८०, बुधबार
व्यवसायीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आग्रह


नवलपरासी–अर्थमन्त्री डा प्रकाशशरण महतले उद्योग व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य सङ्घ नवलपरासीले सदरमुकाम परासीमा आयोजना गरेको औद्योगिक व्यापार मेला–२०८० को उद्घाटन गर्दै मन्त्री डा महतले राजस्व सङ्कलन, बाह्य पर्यटकको सङ्ख्या बढेको र मूल्यवृद्धि घट्दो अवस्थामा भएकाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताए।

‘मैले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा मुलुकको अर्थतन्त्र निकै कमजोर हालतमा थियो, अहिले अर्थतन्त्र जोखिममुक्त छ’, मन्त्री डा महतले भने । यसअघिको सरकारले बजेटको सुनिश्चितता बिना आयोजनाको उद्घाटन गर्दै सुरु गरेकाले अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ थियो । 

पश्चिम नवलपरासीको महेशपुर भन्सार नाका मूल भन्सारमा परिणत भए पनि लक्ष्यअनुसार राजस्व संकलन नभएको उल्लेख गर्दै मन्त्री डा महतले राजस्व वृद्धिका लागि क्वारेन्टाइन र सडक पूर्वाधार विकासका लागि आगामी आवको बजेटमा समावेश गरिने आश्वासन दिए। मेलामा बाल उद्यानलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित एक सय ५० कक्ष रहेका छन् । मेला यही फागुन ३० गतेसम्म चल्ने छ । 

पश्चिम नवलपरासी आउनुभएका मन्त्री डा महतले आजै पाल्हीनन्दन गाउँपालिका–१ महेशपुर भन्सारको समेत निरीक्षण गरे । सो अवसरमा उनले भन्सारलाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए। 

महेशपुर नाकालाई प्रमुख नाकाको रुपमा विकास गर्न कदम चाल्ने मन्त्री डा महतले उल्लेख गरे । मूल भन्सारको रुपमा प्रवाह गर्न जग्गाको अभाव रहेको उल्लेख गर्दै उनले यसबारे प्रस्ताव पेस गरी प्रक्रिया अघि बढाइने उनले बताउनुभयो । मन्त्री डा महतले जिल्लास्थित सुरक्षा निकायलाई गैरकानुनी आयात तथा निर्यातमा रोक लगाउन सुझाव दिनुभएको छ । यसबाट सरकारलाई राजस्व उठाउन सहज हुने उनले उल्लेख गरे। 

प्रतिक्रिया