चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला : १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न 

जयन सुब्बा मानन्धर     ०८ फागुन २०८०, मङ्गलबार
चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला : १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न 


हेटौँडा– चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

चलचित्र पत्रकारिताका क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भएको यो भेलामा भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी आदि कलाकारहरुको उपस्थिति रहेको थियो ।

यस्तो छ घोषणापत्र–२०८०

१. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धीत सरोकारवाला निकायसँग माग गर्दछ ।

२. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ ।

३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ ।

४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ ।

५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ ।

६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ ।

७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ ।

८.नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ ।

९. कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ ।

१०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।

११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ ।

१२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ ।

१३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

प्रतिक्रिया