बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल २ दिनदेखि अवरुद्ध

नेपालगञ्ज– नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । 

बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् । हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको  हो ।

दुई दिनदेखि  उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं जाने यात्रु अझ बढी समस्यामा परेका छन् । 

नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट  उडान भर्दै आएका छन् । ती सबै उडानका यात्रूहरु अलपत्र छन् ।

प्रतिक्रिया