सुर्खेत– कर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालीकोटका विष्णु विक र नेकपा एकीकृत समाजवादीबाट दैलेखकी सावित्री मल्ल विजयी भएका हुन् ।
कर्णालीमा रिक्त हुने तीन सिटका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच १–१ सिट लिनेगरी भागवण्डा भएको थियो ।
जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी भइन् । यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत प्राप्त गरी विजयी भए ।