नयाँ दिल्ली–बहुप्रतिक्षित अयोध्याको राम मन्दिरमा विधिवत् मूर्तिको प्राण प्रतिष्ठा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पूजाआजा गरेर रामको मूर्तिको प्राण प्रतिष्ठा गरेका हुन् । प्राण प्रतिष्ठा पछि प्रधानमन्त्री मोदीले २२ जनवरी २०२४ क्यालेन्डरमा लेखिने सामान्य तिथि नभएर यो, कालचक्रलाई बदलेको दिनका रुपमा याद गरिने बताए । उनले आजको दिनलाई हजारौं हजार वर्षसम्म पढिने र स्मरण गरिने बताएका छन् । उनले सयौं वर्षको प्रतिक्षा, धैर्य, अनगिन्ती त्याग र तपस्यापछि टेन्टबाट दिव्य मन्दिरमा रामललाको बास भएको बताए ।

‘रामलला अब टेन्टमा रहने छैनन्, दिव्य मन्दिरमा रहने छन्,’ प्राण प्रतिष्ठा कार्यक्रमपछि आयोजित समरोहमा उनले भने, ‘अहिलेको यो क्षण अलौकिक र पवित्र छ ।’ उनले भूमि पूजन पछि नै सम्पूर्ण रामभक्तमा उत्साह बढाएको र मन्दिर निर्माणसँगै विश्वास बढाउँदै लगेको बताउँदै प्राण प्रतिष्ठा पछि सबैमा खुसी छाएको र पूरा देशले दीपावली मनाउने बताए ।
उनले न्यायको प्राय भगवान रामको मन्दिर पनि न्यायोचित तरिकाबाटै बनेको बताए । उनले भारतको न्यायपालिकाप्रति आभार समेत प्रकट गरे । उनले रामको मन्दिरलाई शान्ति, आपसी सद्भाव र समन्वयको प्रतिक भनेका छन् । रामको मन्दिर निर्माणका कारण देशमा आगो लाग्ने केहीको विचार पूर्ण रुपमा निरस्त भएको उनको भनाइ थियो । उनले राम मन्दिरको निर्माणले आगो होइन, ऊर्जाको जन्म दिएको बताए । ‘राम आगो होइन, ऊर्जा हो । राम विवाद होइन, समाधन हो,’ उनले भने, ‘भारतीय संस्कृतिप्रतिको अटुट विश्वास आजको प्राण प्रतिष्ठाले देखाएको छ ।’

उनले देशमा निराशाका लागि रत्तिभर स्थान नहरेको भन्दै अर्को एक हजार वर्षको सबल भारतको निर्माणका लागि आजकै दिन सबैले शपथ लिनुपर्ने समेत बताए । ‘अब भारतको समय हो, भारत अब अगाडि बढ्दै छ, हामी रुकने छैनौं, विकासको उचाईंमा पुग्ने छौं,’ उनले भने, ‘हाम्रो भविष्य अतितभन्दा धेरै सुन्दर हुन गइरहेको छ ।’
३१ वर्ष अगाडि ६ डिसेम्बर १९९२ का दिन हिन्दुवादी कार्यकर्ता र समर्थकहरूको लाखौं भिडले अयोध्यामा रहेको बाबरी मस्जिदको संरचानलाई ध्वस्त पारेका थिए । त्यही मस्जिद रहेको स्थानमा राम मन्दिरको निर्माण भएको छ । सन् १५२६ मा भारत आएका पहिलो मुगल मुस्लिम सम्राट बाबरको नाममा उनका सेनापति मीर बांकीले सन् १५२८ मा अयोध्यामा बाबरी मस्जिदको निर्माण गराएका थिए । हिन्दुहरूले रामको जन्मभूमि रहेको स्थानमा पुरानो मन्दिरलाई भत्काएर उक्त मस्जिदको स्थापना गरिएको मान्यता राख्दै आएका थिए । रामको जन्मभूमिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको थियो ।

भारतीय जनता पार्टीले १९८० को दशकमा राम मन्दिर निर्माणको विषयलाई आफ्नो प्रमुख मुद्दा बनाएको थियो । त्यही मुद्दाले भाजपालाई बलियो राजनीतिक शक्ति बनाउँदै लगेर यतिबेला केन्द्रदेखि प्रदेशहरूमा सरकार चलाउने तहमा पुर्याएको छ । सरकारमा आएपछि राम मन्दिर निर्माण गर्ने घोषणालाई भाजपाले पूरा गरेको छ ।
९ नोभेम्बर २०१९ मा सुप्रिम कोर्टले विवादित बाबरी मस्जिद र राम जन्मभूमिको जग्गाका विषयमा फैसला सुनाएको थियो । कोर्टले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला दिएको थियो । मस्जिद निर्माणका लागि अन्यत्र ५ एकड जमिन दिने निर्णय सुनाइएको थियो । त्यसको केही महिनापछि प्रधानमन्त्री मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिल्यानास गरेका थिए । मन्दिरको गर्भ गृह र पहिल्लो तल्लाको निर्माण पूरा भएपछि रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।

रामको बालरुपको मूर्ति मन्दिरमा राखिएको छ । ७० एकड क्षेत्रमा निर्माण हुँदै गरेको राम मन्दिर परियोजना सम्पन्न हुँदासम्म २ हजार करोड रुपैयाँको लागत अनुमान गरिएको छ । अगामी वर्ष २०२५ सम्म मन्दिरको सबै कार्य पूरा हुने लक्ष्य राखिएको छ । अधुरो मन्दिरमा रामको मूर्तिको प्राण प्रतिष्ठा गरिएकोमा आदि शंकराचार्यले असन्तुष्टि जनाउँदै आएका छन् ।