बागमतीले कोशीलाई ६४ रनले हरायो

राम्रो अनलाइन     ०५ माघ २०८०, शुक्रबार
बागमतीले कोशीलाई ६४ रनले हरायो

काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । 

जीतका लागि दुई सय ७४ रनको बलियो लक्ष्य पच्छाएको कोशी प्रदेशल ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै दुई सय नौ रनमा समेटियो । कोशी प्रदेशका लागि सुजन थपलियाले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ७६ बल खेल्दै चार चौका र तीन छक्का प्रहार गरे । साथै कप्तान अङ्कित सुवेदीले ५३ रन बनाए । उनले ६५ बलमा चार चौका र दुई छक्का प्रहार गरे । अशीष भट्टराईले ३२, सोनु अनसरीले २१ तथा हेमन्त राईले १० रन बनाए । 

बलिङतर्फ बागमतीका इशान पाण्डे पाँच विकेट लिए भने सूर्य तामाङले दुई विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठ र रिजन ढकालले समान एक/एक विकेट लिए । 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले  ब्याटिङको निम्तो पाएको बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनाएको थियो । बागमतीका लागि आशुतोष घिरैयाले एक सय ११ बलमा एक सय १८ रन जोडे । उनले कुल १६ चौका र २ छक्का प्रहार गरे । 

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आँशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरेका थिए । 

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिएका थिए ।
 

प्रतिक्रिया