धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा पर्यटकको लर्को

राम्रो अनलाइन     ०५ माघ २०८०, शुक्रबार
धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा पर्यटकको लर्को

झापा– शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ । 

कोशी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रुपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खानेपानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।

उनले कात्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चलपहल हाल खचाखच हुने गरेको बताए । उनका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । ‘बिदा र शनिबारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्’, उनले भने, ‘यसबाट आउने शुल्कसमेत राम्रै सङ्कलन हुने गरेको छ ।’

पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ । यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उनको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जीलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् । 

उनले वनभोज खान आउनेबाट रु पाँच सयदेखि रु तीन हजारसम्म शुल्क लिने गरेको बताए । दोमुखा पर्यटकीय क्षेत्रमा बालउद्यान र बहुजातीय सङ्ग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको जानकारी दिए । अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाँकन हुने गरको बताए । उनका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधासम्पन्न होटल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ । 
 

प्रतिक्रिया