काठमाडौँ– जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्षको कैद सजाय सुनाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पीडितको पहिचान भंग गर्ने कोशिस गरेका छन्। लामिछानेबाट पीडित भएकी युवती भन्दै पहिचान खुलाउन खोज्नेविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ।
गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेको भन्दै साइबर ब्युरोमा जाहेरी परेको हो। पछिल्लो समय जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएपछि पीडित गौशाला २६ को पहिचान खुलाउने प्रयास गरेका छन्।
यसरी पहिचान खुलाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवश सापकोटा समेत छन्। पहिचान खुलाएको भन्दै रास्वपाले दिवशलाई निलम्बन गरिसकेको छ।
गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ। पहिचान सार्वजनिक गर्नेलाई ५ वर्षसम्म जेल हुन सक्छ ।