प्रा.डा. इन्दिरा उपाध्याय
स्त्री, प्रसूति तथा परिवार नियोजन विशेषज्ञ
मैले स्वास्थ्य क्षेत्रमा काम गर्न थालको लगभग ३० वर्ष भयो । बिरामीको जीवन बचाउन अपरेसन थिएटरभित्र बिताएको हरेक पल मेरा लागि अविस्मरणीय छन् । मैले धेरै किसिमका अपरेसन गरेकी छु । सामान्यतया सामान्य सुत्केरी हुन सम्भव नभएका गर्भवतीको अपरेसन गरेर बच्चा निकाल्छु ।
म पहिलादेखि नै जिज्ञासु स्वभावकी थिएँ । आफूभन्दा ठूलाले गरेको काम नियालेर हेर्थें । एकदमै अनुशासित र निडर थिएँ । त्यसैकारण मैले मेरो पहिलो अपरेसन पनि एकदमै आत्मविश्वासका साथ गरेँ । अपरेसन थिएटर भनेको मान्छेको जीवनसँग जोडिएको ठाउँ हो । त्यहाँ हरेक किसिमको सावधानी अपनाउनुपर्छ । अपरेसन गर्दा सबैभन्दा पहिला बिरामीलाई सहज किसिमको वातावरण बनाउनुपर्छ । तीन वर्षअगाडि मैले एउटा अपरेसन गरेकी थिएँ । त्यो मेरो जीवनकै अविस्मरणीय अपरेसन थियो ।
बिरामी ३३ वर्षकी महिला थिइन् । उनका श्रीमान् विदेशमा थिए । उनी पहिलो पटक आमा बन्दै थिइन् । ओपीडीमा उनलाई मैले नै हेरिरहेकी थिएँ। हामीले प्रयास गर्दा उनको नर्मल डेलिभरी हुन सकेन । बच्चा अपरेसन गरेर निकाल्यौँ । अपरेसन गरेको केही दिनपछि उनी डिस्चार्ज भइन् । डिस्चार्ज भएको १५ दिनमा उनी अचेत अवस्थामा अस्पताल आइन् । रगत एकदमै बगिरहेको थियो । हामीले क्युरेटेज गरेर हेयौँ । केही देखिएन।
औषधि दियौँ । शरीरमा रगत चढायाँ। ठीक भयो । घर पठायौँ । त्यसको फेरि केही दिनमा पहिलाकै अवस्थामा अस्पताल आइपुगिन् । औषधि गरेर ठीक बनाएर पठायौँ । तेस्रो पटक पनि त्यस्तै अवस्थामा बिरामी अस्पताल आएपछि हाम्रो मनमा धेरै कुरा आए । अपरेसन गरेको घाउ इन्फेक्सनले फाट्यो जस्तो लाग्यो । ‘ब्लिडिङ डिसअर्डर’ भएको हो कि भन्ने पनि लाग्यो । तेस्रो पटक पनि विभिन्न प्रयासले उपचार गरेर पठाएपछि चौथो पटक पनि उही पहिलाको जस्तै अवस्थामा आइन् ।
अवस्था उस्तै अचेत नै थियो । धेरै कुराको अनुसन्धान गर्दा पनि केही पत्तो लागेन । थप चेकजाँच गरेपछि नसाको एक साइडमा रगत जमेको जस्तो देखियो । त्यसपछि हामीले उनको परिवारलाई थाहा दियौँ ।
उनको अवस्था एकदमै नाजुक भइसकेको थियो । अपरेसन गरेर पाठेघर निकाल्नुपर्ने भयो । अपरेसन गरिहाल्नुपर्ने खालको थियो । सोच्ने समयसमेत थिएन । त्यो बेला उनी ३५ दिनकी सुत्केरी थिइन् । अपरेसन गर्नु उत्तिकै चुनौतीपूर्ण थियो । अपरेसन सफल हुन्छ÷हुँदैन ? भन्न सक्ने अवस्था थिएन । ब्लड क्रस म्याच गरेर राखेका थियौँ । पारामेडिक्सका डाक्टर, सिस्टर, असिस्टेन्ट, एनेस्थेटिस्ट, म र मेरो एकजना शल्यचिकित्सक साथी जम्मा भयौँ ।
बिरामीलाई अपरेसन टेबलमा राखेपछि ब्लड प्रेसरदेखि सबै कुरा जाँच गयौँ । मनिटरले सबै कुरा ठीक देखाएपछि मात्र अपरेसन सुरु गयौँ । कति समय लाग्छ भन्न सक्ने अवस्था थिएन । यसकारण हामीले उनलाई पूरै बेहोश बनायौँ ।
पहिला बच्चा जहाँबाट अपरेसन गरेर निकालिएको थियो, त्यही ठाउँमा काट्यौँ । पाठेघरको एक भाग राख्यौँ र बाँकी सबै निकाल्यौँ । अण्डकोष र अण्डवाहिनी नली बाँकी बसे । मेडिकल भाषामा हामीले ‘सबटोटल हिस्टेरेक्टोमी’ गरेका थियाँ । हामी सबैको सामूहिक प्रयासमा अपरेसन सफल भयो । त्यसका लागि लगभग ४० मिनेट लागेको थियो । ‘अपरेसन सफल भयो’ भन्ने सुनेपछि उनका आफन्त एकदमै खुशी भए । त्यसको सातआठ दिनपछि उनी ठीक भएर घर फर्किन् ।
यसरी जोखिम मोलेर काम गर्दा र सफलता हात पार्दा हामी डाक्टरहरू एकदमै खुशी हुन्छाँ । जस्तोसुकै गम्भीर खालको केस भए पनि अपरेसन थिएटरभित्र गु्रप राम्रो हुनुपर्छ ।
हरेक अपरेसन आफैँमा जटिल हुन्छ । डाक्टरले अपरेसन गर्छु भनेर मात्र हुँदैन । त्यसका लागि बिरामीको राम्रोसँग अध्ययन गर्नुपर्छ । आफू स्वयं तयार हुनुपर्छ । कुनै समस्या आए यस्तो तरिकाले समाधान गर्छु भनेर तयार हुनुपर्छ । जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? त्यसको ज्ञान हुनुपर्छ । यसका साथै डाक्टरमा एकदमै छिटो निर्णय लिन सक्ने क्षमता हुनुपर्छ ।
प्र्रस्तुतिः सृजना