३५ दिनको सुत्केरीको शल्यक्रिया गर्दा

राम्रो अनलाइन     २२ फागुन २०७७, शनिबार
३५ दिनको सुत्केरीको शल्यक्रिया गर्दा

प्रा.डा. इन्दिरा उपाध्याय
स्त्री, प्रसूति तथा परिवार नियोजन विशेषज्ञ 

मैले स्वास्थ्य क्षेत्रमा काम गर्न थालको लगभग ३० वर्ष भयो । बिरामीको जीवन बचाउन अपरेसन थिएटरभित्र बिताएको हरेक पल मेरा लागि अविस्मरणीय छन् । मैले धेरै किसिमका अपरेसन गरेकी छु । सामान्यतया सामान्य सुत्केरी हुन सम्भव नभएका गर्भवतीको अपरेसन गरेर बच्चा निकाल्छु ।


म पहिलादेखि नै जिज्ञासु स्वभावकी थिएँ । आफूभन्दा ठूलाले गरेको काम नियालेर हेर्थें । एकदमै अनुशासित र निडर थिएँ । त्यसैकारण मैले मेरो पहिलो अपरेसन पनि एकदमै आत्मविश्वासका साथ गरेँ । अपरेसन थिएटर भनेको मान्छेको जीवनसँग जोडिएको ठाउँ हो । त्यहाँ हरेक किसिमको सावधानी अपनाउनुपर्छ । अपरेसन गर्दा सबैभन्दा पहिला बिरामीलाई सहज किसिमको वातावरण बनाउनुपर्छ । तीन वर्षअगाडि मैले एउटा अपरेसन गरेकी थिएँ । त्यो मेरो जीवनकै अविस्मरणीय अपरेसन थियो ।  


बिरामी ३३ वर्षकी महिला थिइन् । उनका श्रीमान् विदेशमा थिए । उनी पहिलो पटक आमा बन्दै थिइन् । ओपीडीमा उनलाई मैले नै हेरिरहेकी थिएँ। हामीले प्रयास गर्दा उनको नर्मल डेलिभरी हुन सकेन । बच्चा अपरेसन गरेर निकाल्यौँ । अपरेसन गरेको केही दिनपछि उनी डिस्चार्ज भइन् । डिस्चार्ज भएको १५ दिनमा उनी अचेत अवस्थामा अस्पताल आइन् । रगत एकदमै बगिरहेको थियो । हामीले क्युरेटेज गरेर हेयौँ । केही देखिएन।

औषधि दियौँ । शरीरमा रगत चढायाँ। ठीक भयो । घर पठायौँ । त्यसको फेरि केही दिनमा पहिलाकै अवस्थामा अस्पताल आइपुगिन् । औषधि गरेर ठीक बनाएर पठायौँ । तेस्रो पटक पनि त्यस्तै अवस्थामा बिरामी अस्पताल आएपछि हाम्रो मनमा धेरै कुरा आए । अपरेसन गरेको घाउ इन्फेक्सनले फाट्यो जस्तो लाग्यो । ‘ब्लिडिङ डिसअर्डर’ भएको हो कि भन्ने पनि लाग्यो । तेस्रो पटक पनि विभिन्न प्रयासले उपचार गरेर पठाएपछि चौथो पटक पनि उही पहिलाको जस्तै अवस्थामा आइन् । 


अवस्था उस्तै अचेत नै थियो । धेरै कुराको अनुसन्धान गर्दा पनि केही पत्तो लागेन । थप चेकजाँच गरेपछि नसाको एक साइडमा रगत जमेको जस्तो देखियो । त्यसपछि हामीले उनको परिवारलाई थाहा दियौँ । 
उनको अवस्था एकदमै नाजुक भइसकेको थियो । अपरेसन गरेर पाठेघर निकाल्नुपर्ने भयो । अपरेसन गरिहाल्नुपर्ने खालको थियो । सोच्ने समयसमेत थिएन । त्यो बेला उनी ३५ दिनकी सुत्केरी थिइन् । अपरेसन गर्नु उत्तिकै चुनौतीपूर्ण थियो । अपरेसन सफल हुन्छ÷हुँदैन ? भन्न सक्ने अवस्था थिएन । ब्लड क्रस म्याच गरेर राखेका थियौँ । पारामेडिक्सका डाक्टर, सिस्टर, असिस्टेन्ट, एनेस्थेटिस्ट, म र मेरो एकजना शल्यचिकित्सक साथी जम्मा भयौँ ।


बिरामीलाई अपरेसन टेबलमा राखेपछि ब्लड प्रेसरदेखि सबै कुरा जाँच गयौँ । मनिटरले सबै कुरा ठीक देखाएपछि मात्र अपरेसन सुरु गयौँ । कति समय लाग्छ भन्न सक्ने अवस्था थिएन । यसकारण हामीले उनलाई पूरै बेहोश बनायौँ ।


पहिला बच्चा जहाँबाट अपरेसन गरेर निकालिएको थियो, त्यही ठाउँमा काट्यौँ । पाठेघरको एक भाग राख्यौँ र बाँकी सबै निकाल्यौँ । अण्डकोष र अण्डवाहिनी नली बाँकी बसे । मेडिकल भाषामा हामीले ‘सबटोटल हिस्टेरेक्टोमी’ गरेका थियाँ ।  हामी सबैको सामूहिक प्रयासमा अपरेसन सफल भयो । त्यसका लागि लगभग ४० मिनेट लागेको थियो । ‘अपरेसन सफल भयो’ भन्ने सुनेपछि उनका आफन्त एकदमै खुशी भए । त्यसको सातआठ दिनपछि उनी ठीक भएर घर फर्किन् । 


यसरी जोखिम मोलेर काम गर्दा र सफलता हात पार्दा हामी डाक्टरहरू एकदमै खुशी हुन्छाँ । जस्तोसुकै गम्भीर खालको केस भए पनि अपरेसन थिएटरभित्र गु्रप राम्रो हुनुपर्छ ।


हरेक अपरेसन आफैँमा जटिल हुन्छ । डाक्टरले अपरेसन गर्छु भनेर मात्र हुँदैन । त्यसका लागि बिरामीको राम्रोसँग अध्ययन गर्नुपर्छ । आफू स्वयं तयार हुनुपर्छ । कुनै समस्या आए यस्तो तरिकाले समाधान गर्छु भनेर तयार हुनुपर्छ । जोखिमलाई कसरी न्यूनीकरण गर्ने ? त्यसको ज्ञान हुनुपर्छ । यसका साथै डाक्टरमा एकदमै छिटो निर्णय लिन सक्ने क्षमता हुनुपर्छ ।

प्र्रस्तुतिः सृजना 

प्रतिक्रिया