जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका किरण राई पक्राउ

राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका किरण राई पक्राउ

काठमाडौँ– जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिन भित्रै पक्राउ परेका हुन् । एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ । 

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया