सर्लाही– सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
बरहथवा नगरपालिकाको अस्पताल स्तरोन्नतिको विषयलाई लिएर शुक्रबार भएको झडपमा एक जनाको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारीले आज बिहान ८ बजे सम्मका लागि नगरक्षेत्रको चार किल्ला तोकेर कर्फ्यु जारी गरेका थिए। कर्फ्युको समय सकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि भोलि (आइतबार) बिहान ८ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाका अनुसार बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न पाउने छैन ।