काठमाडौँ– उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ ।यसअघि ईपीएस शाखाले सीप बिल्डिङमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन र परिक्षा दिन नपाउने बताएको थियो ।
फाराम भर्न नपाएको भन्दै शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरुले सार्वजनिक यातायात तोडफोडदेखि मन्त्रीको गाडीसमेत जलाइदिएका थिए । सो झडपमा परी २ जनाको मृत्यु समेत भएको छ ।
गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

