क्रिस्टोफर डी कुक
अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच डब्लू बुसलाई कतिपयले दया र शिष्टता जगाउने ‘सम्मानित’ व्यक्तिका रूपमा प्रस्तुत गर्छन् ।
व्यक्तिगत रूपमा दयालु र शिष्ट तथा नीति र व्यवहारमा क्रूर हुनुको अर्थ के लाग्छ ? आवरणमा बुस सज्जन थिए। तर, उनले युद्ध, हिंसा र भ्रष्टताको विरासत छोडेका छन्।
सत्ता सम्हाल्दा बुसले दयालु र सभ्य राष्ट्र बनाउने वाचा गरेका थिए। त्यसको एक वर्ष नपुग्दै २० डिसेम्बर १९८९ को बिहान पनामामा आक्रमण गर्न उनले २६ हजार सैनिक परिचालन गरे। क्रिसमसअघि सीआईएका पुराना एजेन्ट म्यानुएल नोरिएगालाई हटाउन आक्रमण गरिएको थियो।
मध्यरातमा पनामा सिटीमा बम वर्षा हुन थाल्यो, ज्वाला उठ्न थाले। ‘द पनामा डिसेप्सन’ नामक डकुमेन्ट्रीका अनुसार तीन दिनको यो ‘तीव्र र निर्दयी’ आक्रमणमा अमेरिकी करदाताको करौडौँ डलर खर्च भयो।
बुसको पनामा आक्रमणमा पाँच सयदेखि एक हजार जना मारिए। संयुक्त राष्ट्रसंघको महासभाले पनि ‘अन्तर्राष्ट्रिय कानुन तथा पनामाको सार्वभौमसत्ताको खुलेआम उल्लंघन’ भन्दै यसको आलोचना गर्यो। अमेरिकी विमानले मानव बस्तीमा समेत बम खसायो। आक्रमणपछि १० हजार पनामावासी घरबारविहीन भएको त्यहाँका अधिकारीहरूले बताएका थिए।
यो आक्रमणअघि पनि बुस प्रशासनले नोरिएगालाई हटाउन अनेक गुप्त योजना कार्यान्वयन गरेको ‘ह्युमन राइट्स वाच’को प्रतिवेदनमा उल्लेख छ। सन् १९८८ मा पनामाको निर्वाचन प्रभावित पार्न सीआईएले एक करोड डलर खर्चेको थियो।
त्यसको ठीक १३ वर्षअघि बुस सीआईए निर्देशक थिए। उनैले नोरिएगाको तलब बढाएर एक लाख डलर पुर्याएका थिए। उपराष्ट्रपति हुँदा पनि बुसले नोरिएगालाई लागुऔषधसम्बन्धी सूचनाका लागि पैसा तिरिरहे। यसको मुख्य कारण थियो, निकारागुआको सान्डिनिस्टा सरकारविरुद्ध अमेरिकाको गुप्त युद्ध। ‘कोन्ट्रा’ भनिने सरकारविरोधी विभिन्न समूहलाई हतियार आपूर्ति गर्न नोरिएगाको सहयोग चाहिएको थियो।
आफैँले करदाताको पैसा खुवाएर हुर्काएको व्यक्तिविरुद्ध बुसको यो एकतर्फी र अघोषित युद्धले स्पष्ट पार्छ, उनी यु्द्धपिपासु हुन्। त्यसअघि र पछिका उनका कृत्य पनि उस्तै हिंसात्मक छन्। गल्फ युद्ध र इरान–कोन्ट्रा काण्ड ९सन् १९८५ मा संसद्को अनुमति नलिई इरानलाई हतियार बेची प्राप्त रकम सान्डिनिस्टालाई पराजित गर्न खर्च गर्ने रिगन प्रशासनको कार्य० लाई हेर्दा उनी ‘दयालु र भद्र’ कुनै पनि अर्थमा देखिँदैनन्।
ऐतिहासिक कालक्रममा पनामा आक्रमण बिर्सिइयो। तथापि, यसले त्यसपछिका युद्धको बाटो कोरेको धेरैको बुझाइ छ। बुस सिनियरको खाडी युद्ध होस् वा उनको छोराको अफगानिस्तान र इराक युद्ध, तिनको लय पनामा युद्धले निर्धारण गरेको थियो।
सन् २०१४ मा ग्रेग ग्रान्डिनले ‘द नेसन’मा लेखेका छन्, ‘पनामा आक्रमणलाई नबुझी सेप्टेम्बर ११ पछिको अमेरिकी सैन्यवादलाई बुझ्न सकिन्न। पनामापछि एकतर्फी रूपमा ‘सरकार परिवर्तन’ विदेश नीतिको स्वीकार्य विकल्प बन्यो। ‘प्रजातन्त्र प्रवद्र्धन’ रक्षानीतिको मुख्य काम बन्यो। युद्ध जनतालाई देखाउने तमासा बन्यो।’
इरान–कोन्ट्रा काण्डमा बुसको भूमिका
पनामा आक्रमणअघि रोनाल्ड रिगनको उपराष्ट्रपतिका रूपमा जर्ज एच डब्लू बुसले नोरिएगाको बैंक खाता र राजनीतिक हैसियत दुवै बढाइरहेका थिए। त्यसैबेला उनले निकारागुआको सान्डिनिस्टा सरकार फाल्न पनि मुख्य भूमिका खेले।
‘कोन्ट्रा’ योजना पूर्ण रूपमा अमेरिकी सेना, हतियार र खर्चमा बनाइएको थियो। यसले अमेरिकी र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्नुका साथै हतियार, लागुऔषध तस्करीलाई बढावा दिएको थियो। जसले दशौँ हजार मानिसको मृत्यु निम्त्यायो।
इरान–कोन्ट्रा काण्डको अनुसन्धानपछि गुप्त दस्तावेज सार्वजनिक भए। जसअनुसार सन् १९८३ मा उपराष्ट्रपति जर्ज एच डब्लू बुसको अध्यक्षतामा रहेको एक समितिले निकारागुआमा खानी सञ्चालन गर्न सिफारिस गरेको थियो। सो समितिको दर्जनौँ बैठक बसेको थियो। जसमा कोन्ट्रा समूहलाई सहयोग गर्ने विषयमा छलफल गरिएको थियो। यसबाट स्पष्ट हुन्छ, निकारागुआमा अवैधानिक खानी सञ्चालन तथा कोन्ट्रा कान्डमा बुसको महत्वपूर्ण हात थियो। बुसको यस्तो भूमिकाका कारण विश्व अदालतले सन् १९८६ मा अमेरिकाविरुद्ध फैसला नै दियो। ‘मानवीय कानुनको सामान्य सिद्धान्तविपरीतका कार्य’ गरेकोमा उक्त अदालतले अमेरिकासँग क्षतिपूर्ति माग गरेको थियो। तर, त्यसबेला अमेरिकाले उक्त अदालतको फैसला मान्य हुने नीतिको अन्त्य गर्ने घोषणा गरिसकेको थियो।
‘मृत्युको राजमार्ग’
पनामा आक्रमणको एक वर्ष नपुग्दै बुसले खाडी युद्ध सुरु गरे। इराकी राष्ट्रपति सद्दाम हुसेनलाई तह लगाउन र सजाय दिन उनले यस्तो कदम चालेको बताएका थिए। सद्दाम पनि पहिले अमेरिकासमर्थित नै थिए।
युद्धपछि गठित संयुक्त राष्ट्रसंघीय सत्य आयोगले इराकमाथि अमेरिकी नेतृत्वको आक्रमण ‘सर्वनाशक’ भएको बताएको थियो। अत्यधिक बमवर्षाले इराकलाई ‘औद्योगिक युगभन्दा पहिलेको अवस्थामा पुर्याएको’ आयोगको निष्कर्ष थियो।
‘अपरेसन डिजर्ट स्टोर्म’ नाम दिइएको यो आक्रमणमा करिब ३ हजार ६ सय इराकी नागरिक र झण्डै २६ हजार सैनिक मारिएको ‘ह्युमन राइट्स वाच’ र ‘प्रोजेक्ट अन डिफेन्स अल्टरनेटिभ्स’का विज्ञहरूको अनुमान छ। ‘ग्रिन पिस’लगायत संस्थाले चाहिँ पाँचदेखि १५ हजारसम्म नागरिक मारिएको हुन सक्ने बताएका छन्।
सबैभन्दा भयंकर नरसंहार चाहिँ ‘हाइवेज अफ डेथ’ मा भएको थियो। कुवेतमा हारेपछि हजारौँ इराकी सैनिक र नागरिक हाइवे ८० नामक राजमार्गबाट फर्किरहेका थिए। २६–२७ फेब्रुअरी १९९१ मा अमेरिकी नेतृत्वमा ती सैनिकमाथि हवाई आक्रमण भयो।
जसमा हजारौँको मृत्यु भएको थियो। पत्रकार जोइस चेड्याकले लेखेका छन्, ‘कुवेतबाट फर्किरहेका दशौँ हजार इराकी सैनिक र नागरिकमाथि निरन्तर बमवर्षा भयो। यो इतिहासको सबैभन्दा घृणित युद्धअपराधमध्ये एक हो।’ उनका अनुसार छ लेनको यो राजमार्गभरि दुई हजार इराकी सैनिकको सवारी साधन र दशौँ हजार सैनिकको क्षतविक्षत शव छरिएका थिए।
बुसको खाडी युद्धपछि इराक खण्डहरमा परिणत भएको थियो। ८० प्रतिशत विद्युत बन्द भएको थियो। धेरैजसो पूर्वाधार ध्वस्त भएका थिए। बुस प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै सन् १९९१, जुनमा ‘न्युयोर्क टाइम्स’ले एक रिपोर्ट प्रकाशित गरेको थियो। ‘इराक गम्भीर रूपमा क्षतविक्षत भएको छ,’ सो रिपोर्टमा उल्लेख गरिएको छ, ‘सम्भवतः यो गर्मीयाममा स्वास्थ्य संकट आइपर्नेछ। इराकको अर्थतन्त्र पुनर्निर्माण गर्न धेरै वर्ष लाग्नेछ।’
एक जना दुष्ट व्यक्तिलाई पाठ सिकाउने नाममा बुसले गरेको यो विनाश र एक दशकभन्दा लामो नाकाबन्दीका कारण एउटा राष्ट्र पूर्ण रूपमा ध्वस्त भयो। र, लाखौँ मानिस मारिए।
बुसको शिष्टता र समवेदना
विदेश सम्बन्धमा मात्र होइन, घरेलु मामिलामा पनि जर्ज एच डब्लू बुसले विषाक्त विरासत छोडेका छन्। सन् १९८८ को राष्ट्रपतिको चुनावी अभियानमा उनले नश्लभेदी विज्ञापनबाट फाइदा लिएका थिए। उनका प्रतिद्वन्द्वी गभर्नर माइकल डुकासिसले एक अश्वेत कैदीलाई केही दिनका लागि जेलबाट छुट्टी दिएर अपराधप्रति नरम नीति अख्तियार गरेको दृश्य विज्ञापनमा देखाइएको थियो।
बुस आफैँ चाहिँ नागरिक अधिकार रक्षाको विपक्षमा देखिए। सन् १९६४ मा पहिलो पटक कंग्रेसका लागि चुनाव लड्दा उनले ‘सिभिल राइट्स एक्ट’विरुद्ध अभियान चलाएका थिए। १९९० मा राष्ट्रपति छँदा सिभिल राइट्स विधेयकलाई भिटो लगाएर रोकेका थिए। ‘बुसको बोली सभ्य र भद्र थियो, तर उनको नीति रोनाल्ड रिगनको भन्दा कम खतरनाक र प्रतिगामी थिएन,’ लिडरसिप कन्फेरेन्स अन सिभिल राइटका कार्यकारी निर्देशक राल्फ निस भन्छन्।
यीबाहेक बुस सिनियरविरुद्ध यौन उत्पीडन र दुव्र्यवहारको आरोप लगाउने महिलाहरूको संख्या बढिरहेको छ। यो कुनै पनि हालतमा सभ्यताको परिचायक होइन। लाउरा म्याक्गनले ‘भक्स’मा लेखेकी छन्, ‘राजनीतिकर्मीको निजी जीवन भनेर यौन दुव्र्यवहारलाई बिर्सन सकिन्न। यो उनीहरूको नेतृत्व, शक्तिको प्रयोग र नीतिको महत्वपूर्ण भाग हो। बुसका लागि पनि यही कुरा सत्य हो।’
मृत्यपछि प्रत्येक राष्ट्रपति ९निक्सनसमेत० ले लाजै लाग्ने गरी सम्मान पाउँछन्। यसलाई ‘फेक न्युज’ भन्न मन लाग्छ। बुसको मृत्युपछि सिनेटर जोन म्याककेनको मृत्युमा झैँ मूलधारको सञ्चारमाध्यमले उनको राम्रा कामको मात्रै चर्चा गरे।
मानौँ, तिनको आचरण र नीतिलाई अलग गर्न सकिन्छ। एउटा सत्य के हो भने ट्रम्पभन्दा बुस सिनियर, म्याककेन र जर्ज डब्लू बुस समेतले केही भद्र छाप छोडेका छन्। तथापि, तिनको काम दयाहीन सैन्यवाद र युद्धोन्मादका रूपमा अभिव्यक्त भएका छन्।
ट्रम्पको कार्यकालमा मानक कति गिरेको छ भन्ने बुसले हामीलाई बुझाएर गए। उनको मृत्युले अर्को पनि महत्वपूर्ण पाठ दिएको छ। त्यो के हो भने राजनीतिकर्मीको व्यक्तिगत र सार्वजनिक जीवनलाई अलग्याउन मिल्दैन। राजनीति र जीवनमा गन्तीमा आउने भनेकै व्यवहार र नीति हो। बुस सिनियरको व्यवहार र नीति कुनै पनि अर्थमा दयालु, भद्र र शिष्ट थिएन।
(अमेरिकी पत्रकार तथा लेखक कुकको ‘डायट फर ए डेड प्लानेटः बिग बिजनेसेज एन्ड द कमिङ फुड क्राइसिस’ किताब प्रकाशित छ। अमेरिकी म्यागजिन ‘इन दिज टाइम्स’मा प्रकाशित यस लेखको अनुवाद के। गिरीले गरेका हुन्।)