विश्व नेताका सोख : कोही चमेराप्रेमी, कोही चुल्ठोप्रेमी     

एजेन्सी     १८ जेठ २०७८, मङ्गलबार
विश्व नेताका सोख : कोही चमेराप्रेमी, कोही चुल्ठोप्रेमी     

जर्मन चान्सलर एन्जेला मर्केल सामान किन्न र थुपार्न रुचाउँछिन् भने न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जोन की महिलाको चुल्ठो तान्न मन पराउँछन् । बेलायतकी महारानी एलिजाबेथले चमेरा पालेकी छिन् । उता रुसी राष्ट्रपति पुटिन घडी भनेपछि हुरुक्कै हुन्छन् ।  


एन्जेला मर्केल, चान्सलर, जर्मनी
     
एन्जेला मर्केल घरेलु काम गर्न रुचि राख्छिन् । खास गरी भान्छा र घरको भण्डारमा उनको बढी रुचि हुन्छ । खानेकुरा र सरसफाइका साधन घरमा जम्मा गर्नु उनको सोख हो । महिनौँ दिनसम्म पुग्ने खाद्य, पेय, साबुन, सर्फ, फिनेल आदि उनले घरमा जम्मा गरेकी छिन् ।  

कुनै बेला उनी कम्युनिस्ट शासन रहेको पूर्वी जर्मनीकी बासिन्दा थिइन् । त्यहाँ खाद्यलगायत अत्यावश्यक वस्तुको अभाव भएकाले खरिद गर्न लामो लाइनमा बस्नुपथ्र्यो । त्यही भएर त्यतिबेला उनीलगायत पूर्वी जर्मनीका सबैले सकेसम्म बढी सामान खरिद गरेर घर ल्याउने गर्थे । त्यतिबेलाको असुरक्षाभावबाट मर्केल अझै मुक्त हुन नसकेको र यसैले गर्दा उनले घरलाई स्टोरहाउसजस्तै बनाएको भन्दै उनलाई उडाउने गरिन्छ ।

सकेसम्म बढी सामान घरमा जम्मा गरूँ भन्ने चाहना रहेको उनी स्वयंले स्वीकार गरेकी छिन् । केही वर्षअघि ‘सुपरइलु’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘सुपरमार्केटमा पुगेँ भने धेरैभन्दा धेरै सामान खरिद गर्न मन लाग्छ । केही कुरा देख्यो कि काम नलाग्ने छ भने पनि किनिहाल्न मन लाग्छ ।’ पूर्वी जर्मनीमा रहँदाताका अत्यावश्यक वस्तुको चरम अभाव देखेकाले पनि आफूमा यस्तो स्वभाव जागृत भएको हुन सक्ने उनको स्पष्ट भनाइ छ । 
खाना पकाउनु उनको अर्को सोख हो । उनको भान्छामा रेसिपीका थुप्रै किताब छन् । घरमा भएको बेला आफैँ खाना बनाएर उनी परिवारका सदस्यलाई खुवाउने गर्छिन् । 

जोन की, पूर्पप्रधानमन्त्री, न्युजिल्यान्ड

जोन कीको सोख अलिक फरक खालको छ र यसले उनलाई बेला–बेला अप्ठ्यारोमा समेत पारेको छ । अरूको कपाल तान्न पाउँदा उनी औधी खुशी हुन्छन् । 
अझ चुल्ठो बाटेकी महिला देखे भने उनी चुल्ठो नतानी रहन सक्दैनन् । यस्तै बानीका कारण न्युजिल्यान्डको शहर अकल्यान्डमा केही वर्षअघि उनले झण्डै अपमान सहनुपरेको थियो । 

केही समयअघि उनी अकल्यान्डको एउटा रेस्टुरेन्टमा गइरहने गर्थे । रेस्टुरेन्टकी एकजना वेट्रेस चुल्ठो पार्ने गर्थिन् । मौका पाउनासाथ की उनको चुल्ठो तानिहाल्थे । आफ्नो अपमान भएको भन्दै वेट्रेसले विरोध गरिन् । कीले उनीसँग माफी मागे । 

‘रेस्टुरेन्टमा हामी रमाइलो गरिरहेका थियौँ,’ कीले एक अवसरमा भनेका थिए, ‘यत्तिकैमा मैले ती वेट्रेसको चुल्ठो तानेँ । उनी फन्किँदै गइन् र रेस्टुरेन्ट व्यवस्थापनसमक्ष गुनासो गरिन् । उनी फन्किँदै गएको देख्नासाथ मैले हत्तपत्त गएर माफी मागेँ । चुल्ठोप्रतिको मेरो मोह बुझेपछि उनले पनि माफ गरिदिइन् ।’ 

 की यस्ता असहज अवस्थामा पटक–पटक परेका छन् । अनुमतिविना अरूलाई छुने मान्छे भन्दै न्युजिल्यान्डका दुई ठूला दल लेबर पार्टी र ग्रिन्स पार्टी उनको आलोचना गर्छन् । स–साना केटाकेटीको कपाल तान्दै गरेका उनका थुप्रै भिडियो सार्वजनिक भइसकेका छन् । उनको बानी थाहा पाइसकेकाले न्युजिल्यान्डमा उनको यस्तो हर्कतलाई त्यति नराम्ररी कसैले लिँदैन ।

नरेन्द्र मोदी, प्रधानमन्त्री, भारत

नरेन्द्र मोदी रसिक स्वभावका छैनन् । एकल जीवन बिताइरहेका उनी पहिरनमा चाहिँ बडो सचेत छन् । पहिरन, कपालको डिजाइन, दाह्रीको आकार आदिमा पनि उनी होसियार रहन्छन् । 

उनी आइरन लगाएर धार बसेको कपडामात्र लगाउँछन् । घरबाहिर निस्कँदा प्रायः सधैँ ‘जेडब्लू’ ब्रान्डका कपडा लगाउँछन् । आधा बाहुला भएको कुर्ता लगाउन उनलाई बढी सहज लाग्छ । पहिरनप्रति ‘कन्सस’ उनले प्रधानमन्त्री भएयता कोटको नयाँ ब्रान्ड ‘मोदी कोट’ विकास गरिसकेका छन् । भारतमा भएको पछिल्लो ‘ब्रिक्स समिट’मा सहभागी हुन आएका चीन, रुसलगायत मुलुकका राष्ट्रपतिलाई उनले आफूले लगाउने डिजाइनको कोट उपहार दिएका थिए । त्यसपछि ‘मोदी कोट’को चर्चा चौतर्फी फैलिएको थियो । उनी दिनहुँ दाह्री ट्रिम गर्छन् । सिउँदो पारेर कपाल कोर्न रुचाउने उनले गोजीमा सधँै काइँयो बोकेका हुन्छन् । 

फेसनपछिको उनको रुचि सामाजिक सञ्जाल प्रयोग गर्नु हो । उनी हरेक दिनजसो ट्वीट गरेर आफ्ना गतिविधिबारे जानकारी दिने गर्छन् । सामाजिक सञ्जालमा ट्वीटर उनी बढी रुचाउँछन् र आफैँ ट्वीट गर्छन् । विभिन्न व्यक्तिसँग सेल्फी लिएर ट्वीटरमा अप्लोड गर्नु उनको अर्को सोख हो ।

एलिजाबेथ द्वितीय, महारानी, बेलायत


बेलायती महारानी एलिजाबेथलाई जनावरप्रति बढी लगाव छ । उनले दरबारमा वेल्स कोर्जी प्रजातिको कुकुर पालेकी छिन् । सानो आकारको यो कुकुरसँग उनी फुर्सदमा खेलेर बस्छिन् । जनावरहरूको संरक्षणसम्बन्धी अभियानमा पनि उनी संलग्न छिन् । पानीहाँस, रातो लोखर्केजस्ता पक्षी र जनावरको संरक्षण अभियानमा उनी बढी सक्रिय छिन् । 

सबैभन्दा बढी उनको रुचि चाहिँ चमेरामा छ । उनले बेलायती राजदरबार परिसरको एउटा भव्य बंगलामा चमेरा पालेकी छिन् । बासस्थानको अभावमा चमेराहरू लोप हुँदै गएकाले आफूले चमेरालाई घर उपलब्ध गराएको उनले बताउने गरेकी छिन् । 
बंगलामा बस्ने चमेराहरूले फोहर गरेर वरिपरिको वातावरण दुर्गन्धित भएको छ । तर, महारानी राजदरबारका कर्मचारीलाई बंगलाको सरसफाइ गर्न दिन्नन् । चमेराहरूको शान्तिमा खलल पु¥याउनु हुँदैन भन्ने उनको मान्यता छ । 

भ्लादिमिर पुटिन, राष्ट्रपति, रुस


पुटिन घडीका ठूला पारखी हुन् । नयाँ–नयाँ घडी लगाउन र राम्रा घडी संकलन गर्न भनेपछि उनी हुरुक्क हुन्छन् । सन् २०१२ मा पुटिनको निजी संग्रहमा करिब साढे चार लाख पाउन्ड मूल्य बराबरका घडी भएको खबर सार्वजनिक भएको थियो । 

आइसक्रिम खान पनि उनी उत्तिकै रुचाउँछन् । जाडोमा पनि उनी आइसक्रिमको आनन्द लिन्छन् । 
खेलकुदमा पनि उनको गहिरो अभिरुचि छ । नियमित पौडी खेल्छन् । उनले करातेमा ब्ल्याक बेल्ट हासिल गरिसकेका छन् । पुटिन जुडोका कुशल खेलाडी पनि हुन् । उनले जुडोमा फिफ्थ डिग्री ब्ल्याक बेल्ट पाइसकेका छन् । 

असरफ घानी, राष्ट्रपति, अफगानिस्तान


प्राज्ञिक पृष्ठभूमिबाट राजनीतिमा आएका असरफ घानीको सबैभन्दा ठूलो सोख नै लेखपढ हो । पढ्न पाउँदा उनी रमाउँछन् । बिहान ५ बजे उठेर उनी दुईदेखि तीन घण्टा नियमित पढ्छन् । राष्ट्रपति भएपछि उनी अफगानिस्तानको समाज, अर्थतन्त्र, आतंकवाद, अन्तर्राष्ट्रिय राजनीतिलगायत विषयमा छापिएका प्रतिवेदन, गुप्तचर रिपोर्ट आदि बढी पढ्न थालका छन् । मध्यपूर्वको इतिहास, सामरिक विज्ञान, युद्धविज्ञान, अफगानिस्तानका नदी र सभ्यता आदिबारे उनले थुप्रै किताब पढिसकेका छन् । 
अफगानिस्तानको राजनीतिमा सक्रिय हुनुअघि उनले अमेरिकी नागरिकता ग्रहण गरेका थिए । लेबनानमा विश्वविद्यालय तहको अध्ययन गर्दै गर्दा उनले त्यहाँकी क्रिस्चियन महिलासँग बिहे गरेका थिए र दुवै जनाले अमेरिका गएर त्यहीँको नागरिकता ग्रहण गरेका थिए । पश्चिमी जीवनशैली बढी रुचाउने उनको व्यक्तिगत जीवन पनि पश्चिमी ढाँचाकै छ । 
 

प्रतिक्रिया