सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी

राम्रो अनलाइन     ०२ चैत २०८२, सोमबार
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषदमा उजुरी पुगेको छ। 

न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाइ गरेको भन्दै युवराज पौडेल सफल उजुरी लिएर न्यायपरिषद् पगेका हुन्। यद्यपि उजुरी दर्ता भने भइसकेको छैन।

अहिले पोखरेलको इजलासमा रास्वपा सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरणको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्तको निर्णयविरुद्धको रिटमा सुनुवाइ भइरहेको छ। यसबारे प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतसँग थप परामर्श गर्ने परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले जानकारी दिए। सर्वोच्च अदालतका न्यायाधीशविरुद्धको उजुरी हेर्ने क्षेत्राधिकार परिषद्को नभएको भन्दै थप छलफल हुने उनले बताए। 

न्यायाधीश पोखरेलले न्यायाधीशको आचारसंहिता, २०७४ को दफा ४ को उप दफा ४.५ को (ग)ले विपरीत काम गरेको उजुरीमा उल्लेख छ । यो दफामा विवादित विषयमा न्यायाधीशले पहिले कानून व्यवसायीको हैसियतले काम गरेको वा साक्षीको रूपमा रहेको भएमा मुद्दाको सुनुवाइ गर्न नहुने उल्लेख छ।

न्यायाधीश हुनुअघि पोखरेलले लामिछानेविरुद्ध लागेको आत्महत्या दुरुत्सान, नागरिकता, पासपोर्ट जस्ता मुद्दामा वकिलको रूपमा काम गरेका थिए । न्यायाधीश भएपछि रविविरुद्ध लागेका मुद्दाको सुनुवाइ गर्नु न्यायिक अभ्यास विपरीत भए पनि त्यसलाई बेवास्ता गरेको भन्दै आलोचना भइरहेको छ। 

लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयविरुद्ध परेको रिट हिजो पोखरेल र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको थियो। सो मुद्दामा आज पनि सुनुवाइ हुँदैछ। 
 

प्रतिक्रिया