काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ (सरिन)ले समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।
जान्नेलाई छान्ने लहडमा ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङको नाम नसमेटिएको भन्दै तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएकी हुन् ।
‘जान्नेलाई छान्ने लहडमा पर्नुपर्ने थियो, ओखलढुंगाको बगरमा घण्टी बोकेर पहिलो २०७९ को उमेदवार जसले सानो नानी च्यापेर रास्वपाको बीउ रोपेकी थिइन् । तर, उनको नाम परेन । खोटाङबाट समानुपातिकमा नाम थियो चर्चित गायिका बौद्धिकताकी खानी सत्यकला राई, उनको नाम किन आएन?’ उनको प्रश्न छ ।
उनले ताप्लेजुङकी मीरा लाबुङको नाम नआउनु पार्टीले कोसीको भौगोलिकता र जातीय कलस्टरलाई समेट्न नसक्दा अबका दिनमा संगठनमा धेरै असर नपर्ला भन्न नसकिने उनको भनाइ छ । ‘समुदायको व्यक्तिविशेषहरू केन्द्रीय नेताको वरपर नजिक भएर पनि यी कुरामा ध्यानाकर्षण गराउन नसक्नु दुःखद छ ।’
गोमा तामाङ सुनसरी–१ मा हर्क साम्पाङसँग पराजित भएकी थिइन् । रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिना कारबाहीमा परेपछि तामाङले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी छन् । रास्वपाले सोमबार समानुपातिक सांसदहरूको सूची टुंगो लगाएर निर्वाचन आयोगमा पठाएको थियो ।