काठमाडाैं – बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छोडेको उनीनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।
नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, ‘प्रधानमन्त्री र उनकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा गएकी हुन्। ‘उनले देशवासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहेकी थिइन्। तर त्यसो गर्ने मौका पाइनन्।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशवासीका नाममा सम्बोधन गर्ने सैनिक स्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई दृष्टिगत गर्दै सरकारी निवासबाट बाहिरिएकी हुन्।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।