गाजामा उच्च हताहती दरको मध्यपूर्वी मुस्लिम देशबाट विरोध भइरहँदा अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । मानवीय उद्धारका लागि युद्धलाई केही समय रोक्ने विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिंकेन टर्की पुगेका छन् । त्यहाँ उनले आफ्ना टर्किस समकक्षी हाकान फिदानसँग वार्ता गरे । उता अमेरिकी विदेशमन्त्री राजधानी अंकारामा रहँदा टर्किस राष्ट्रपति रिसेप तयप एर्दोगानले भने ग्रामीण क्षेत्रको भ्रमणमा निस्किए । यसलाई अमेरिकी मन्त्री पन्छाउने प्रयासका रूपमा हेरिएको छ । इजरायल–हमास युद्धमा अमेरिकाले इजरायलाई पूर्ण समर्थन दिएको कुरामा अधिकांश मध्यपूर्वी देश असन्तुष्ट छन् ।
तर अमेरिकाले इजरायललाई निःसर्त समर्थन दिँदै उसका मध्यपूर्वी इस्लामिक साझेदारलाई आफूहरू मानवीय क्षति कम गर्न केन्द्रित रहेको भनेर सम्झाउन खोजिरहेको छ । ब्लिंकेन अन्य मध्यपूर्वी देशको राजधानी पुगेर टर्की पुगेका थिए । त्यसअघि शनिबार ब्लिंकेनले जोर्डनको राजधानी अम्मानमा कतार, साउदी अरब, जोर्डन र युएईका विदेशमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । त्यहाँ सबैले एक स्वरमा अमेरिकाले इजरायललाई तत्काल युद्धविराम गर्न मनाउनुपर्ने माग गरे । सो भेटवार्तापछि ब्लिंकेन प्यालेस्टाइनको पूर्वी हिस्सा ‘पश्चिम किनारा’मा शासन गरिरहेको ‘प्यालेस्टिन एथोरिटी’का राष्ट्रपति मेहमुद अब्बासलाई भेटे । त्यसअघि ब्लिंकेन इराकमा थिए, जहाँ उनले प्रधानमन्त्री मोहम्मद अल–सुडानीसँग छलफल गरेका थिए ।