काठमाडौँ–सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली चलचित्र क्षेत्रले अपेक्षा गरेको परिवर्तनलाई व्यवहारमा अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली चलचित्र ‘इलिफेन्ट्स इन द फग’को सम्मानमा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा उनले चलचित्र क्षेत्रको विकास, सुदृढीकरण र संस्थागत सुधारका लागि सरकार आवश्यक पहल गर्न तयार रहेको स्पष्ट पारे।
उनले चलचित्र क्षेत्रको योगदानलाई अमूल्य भन्दै कान्समा प्राप्त सफलता देशका लागि पनि गौरवको विषय भएको बताए। “आज यहाँ भएको सम्मान वा पुरस्कारलाई रकमले मात्रै मापन गर्न सकिँदैन । यो चलचित्र समूहले देश र सरकारलाई एउटा अमूल्य उपहार दिएको अनुभूति भएको छ”, उनले भने।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि संसद्को संसदीय समितिमा छलफलमा रहेको सम्बन्धित विधेयकलाई समयसापेक्ष र व्यवहारिक बनाउन चलचित्रकर्मीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। कलाकार, निर्माता तथा सरोकारवालासँग संयुक्त छलफल गरेर सुझावलाई विधेयकमा समेटिने उनको भनाइ थियो ।
“यहाँहरूको जीवन र लगानी जोडिएको यो क्षेत्रलाई उचाल्न विधेयकलाई कस्तो ऐनका रूपमा अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकारका तर्फबाट म हरसम्भव प्रयास गर्नेछु”, उनले भने, “समितिसँग पनि आवश्यक समन्वय र संवाद गरेर अघि बढ्न सकिन्छ ।”
उनले विभिन्न क्षेत्रको विकास र समृद्धिका लागि खर्च गर्ने विषयमा धेरै बहस हुने गरे पनि लगानी कसरी सिर्जना गर्ने, कसरी उत्पादन गर्ने र कसरी आम्दानी बढाउने भन्ने विषयमा अपेक्षाकृत कम छलफल हुने गरेको उल्लेख गरे। चलचित्र क्षेत्रले देश, समाज र अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान दिने भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको उनको धारणा थियो ।
देशको पहिचान, संस्कृति र आवाज बोल्ने गुणस्तरीय चलचित्र निर्माणलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षमा सरकारले करिब रु साढे तीन करोड बजेट विनियोजन गरेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले त्यसको सकारात्मक परिणामका आधारमा आगामी वर्ष थप बजेट वृद्धि गर्न पहल गरिने बताए।
“राम्रा चलचित्र, देश बोल्ने चलचित्रलाई राज्यले केही न केही साथ दिनुपर्छ भन्ने सोचका साथ बजेट छुट्याइएको हो”, उनले भने, “यसले सकारात्मक नतिजा दियो भने आगामी वर्ष अझ बढी बजेटका लागि आधार तयार हुन्छ ।”
उनले चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न चलचित्र विकास बोर्डलाई थप सक्षम र सबल बनाउनुपर्ने आवश्यकता औँल्याउँदै चलचित्र क्षेत्रको उन्नयनका लागि सबै पक्षले हातेमालो गरेर अघि बढ्न आग्रह गरे।
सम्मान समारोहमा कान्स फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘इलिफेन्ट्स इन द फग’को समूहलाई रु दुई लाख ५० हजार राशिसहित सम्मान गरिएको थियो ।