भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

राम्रो अनलाइन     १५ साउन २०८१, मङ्गलबार
भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

 

केरला – भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दासम्म विभिन्न अस्पतालमा ४५ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचारले लेखेको छ। भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिक तैनाथ गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिए। उनले घटनाप्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

केरलामा मङ्गलबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया