नयाँ दिल्ली, ४ जेठ (सिन्ह्वा) : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा सङ्क्रमित हुनेको सङ्ख्याा घटेको पाइएको छ ।
सोमबार त्यहाँका दुई लाख ८१ हजार ३६८ जना सङ्क्रमित थपिएकामा आज मंगलबार त्यसमा केही कमी आएको छ ।
गएको २४ घन्टा यता मंगलबार बिहान प्राप्त भएको समाचारमा भारतमा कोरोना सङ्क्रमितको सङ्ख्याा दुई लाख ६३ हजार जना मात्र पाइएको बताइएको छ ।
यो सङ्ख्याा गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ६३ हजार ५३३ जना नयाँ सङ्क्रमित भेटिएका हुन् ।
सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको तुलनामा हरेक दिन सङ्क्रमितको सङ्ख्याा घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि चार लाख मानिसमा सङ्क्रमण देखिने गरेको थियो ।
त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टायता यहाँका चार हजार ३२९ जनाको कारोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
मंगलबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म दुई लाख ७८ हजार ७१९ जनाको ज्यान गएको पनि बताइएको छ ।
मन्त्रालयका अनुसार कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्याा दुई करोड ५२ लाख २८ हजार ९२९ पुगेको छ ।
भारतमा सङ्क्रमित व्यक्तिको सङ्ख्याा दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।