नयाँ दिल्ली, २३ चैत (एएनआई) : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । महामारी सुरु भएदेखि अहिलेसम्म एकैदिनमा पहिलो पटक एकलाखभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरूले जनाएका छन् ।
कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावितहरूको सूचीमा भारत तेस्रो अग्रस्थानमा रहेको तथ्याङ्कले देखाएको छ । भारतभन्दा अगाडि दोस्रो स्थानमा ब्राजिल र पहिलोस्थानमा अमेरिका रहेका छन् । गत जनवरी ८ मा अमेरिकामा एकैदिनमा तीन लाखभन्दा बढी सङ्क्रमित भएका थिए । त्यसैगरी ब्राजिलमा एकैदिन सवैभन्दा धेरै मार्च २५ मा एक लाख १५८ जना सङ्क्रमित भएका थिए ।
अमेरिकामा अहिलेसम्म तीन करोड १४ लाख २० हजार ३३१ जना सङ्क्रमित भएका छन् भने पाँच लाख ६८ हजार ७७७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा एक करोड २९ लाख ८४ हजार ९५६ हजार सङ्क्रमित हुँदा तीन लाख ३१ हजार ५३० जनाको मृत्यु भएको छ ।
तेस्रो बढी प्रभावित भएको भारतमा भने अहिले सम्म एक करोड २५ लाख ८९ हजार ६७ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ६५ हजार १३२ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।
महाराष्ट्र राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरू शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ । भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको छ । नागरिकहरूले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको धेरैको बुझाई छ ।