आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह

राम्रो अनलाइन     १४ पुस २०८०, शनिबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आग्रह


पोखरा–आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशील बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन् । पोखरामा इयु नेपाल ट्रेड एन्ड इन्भेष्टमेन्ट कार्यक्रमको आयोजना र महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को समन्वयमा  पोखरामा गण्डकी प्रदेशको सेवा क्षेत्रमा महिला उद्यमीका लागि लगानी पूर्वाधार तयारी विषयक कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले महिलाले सो कुरामा जोड दिएका हुन्। 

कार्यक्रममा सहभागी पर्यटन व्यवसायी शर्मिला न्यौपानेले राज्यले कनिका छरे जस्ता टुक्रे कार्यक्रममा महिलालाई भुलाइराखेको र नतिजामुखी कार्यमा ध्यान नदिएको बताए । ‘राज्यले सामाजिक न्याय र समानताका लागि उद्यमशीलतामा महिलालाई प्रेरित गर्न लैङ्गिकतामा आधारित लगानीमैत्री वातावरण तयार गर्नुपर्छ, तर सरकार भएको अनुभुति छैन’, न्यौपानेले भने । उनले महिला सशक्तिकरणका लागि आएको बजेट कहाँ र कसरी खर्च हुन्छ भन्नेसमेत थाहा नहुने बताए। 

पर्यटन व्यवसायीसमेत रहेकी गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले महिलामैत्री वातावरणको अभावले महिलाले आयआर्जनमा जोडिने अवसरबाट वञ्चित हुनुपरेको बताइन्। उनले महिला उद्यमशीलताका लागि लगानीको वातावरण, व्यवसायमा प्रेरित गर्ने नीति, उत्पादनको बजारीकरणको सुनिश्चितता, महिलाको रुचि, दक्षता क्षमताअनुसारको तालिमको खाँचो औँल्याउँदै आफूले निरन्तर आवाज उठाइरहेको बताइन्। 

कार्यक्रममा प्रोफेसर डा चन्द्रा भद्राले महिला उद्यमशीलतासम्बन्धी हालसम्म भएका पहल र नीतिगत तहबाट ऐतिहासिक विश्लेषण गर्दै महिलाको क्षमता तथा दक्षताको मूल्याकङ्न अझै पनि राज्यस्तरबाट हुन नसकेको बताइन्। उनले महिलाको श्रम अर्थमा रुपान्तरण नहुँदा उनीहरुलाई गृहिणीको दर्जा लिएर अवमूल्यन गरिएको बताए। 

उनले ७५ जिल्लामा नै स्थापना भएको महिला तथा बालबालिका विकास कार्यालय खारेज हुँदा महिलाका मुद्दा केन्द्रित कार्यक्रम हुन नसकेको उनको भनाइ थियो । उनले लैङ्गिकमैत्री अवधारणाप्रति राज्य अझै संवेदनशील हुन नसक्दा विभिन्न कारणले महिला विभेद भोग्न बाध्य भएको बताइन्। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पर्यटन बहुआयामिक क्षेत्र भएकाले महिलालाई उद्यमशीलतामा प्रेरित गर्न थुप्रै सम्भावना भएको बताए। पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रवाहमा महिला पर्यटन व्यवसायीको योगदान अतुलनीय रहेको जनाउँदै उनले अझै सशक्तिकरणको खाँचो औँल्याए।  

ओटेफका सल्लाहकार पम्फा पहारीले संस्थाको स्थापनासँगै सामूहिक आवाजले गति लिन थालेको बताइन्। उनले विभिन्न तालिमले महिलाको आफ्नो पहिचान स्थापित हुने र व्यवसाय अग्रसरता देखाउने तथा आफ्नै नाममा व्यवसाय दर्ता गरेर व्यावसायिक पाइला अगाडि बढाउन सफल भएको बताइन्। 

संस्थाका अध्यक्ष उमा भण्डारी रेग्मीले विभिन्न व्यवसायमा आबद्ध महिलालाई सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरिँदै आएको बताइन् । उनले २०७४ सालमा पोखरामा पहिलोपटक महिला पर्यटन व्यवसायी सङ्गठित भएर संस्था स्थापनापश्चात महिलामा उद्यमशीलता प्रतिको जागरण पनि बढ्दै गएको बताइन् । उनले महिला उद्यमीको क्षमता अभिवृृद्धि र दिगो वित्तीय व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताइन्। 

युरोपियन युनियनकी प्रतिनिधि दिपाञ्जली श्रेष्ठले गण्डकी प्रदेशको तथ्याङ्कमा करिब ४५ प्रतिशत महिलामात्र आत्मनिर्भर भएको जानकारी गराइन्। कार्यक्रममा संस्थाका महासचिव लक्ष्मी लामिछानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्। 

प्रतिक्रिया