काठमाडौं – विपक्षी दलहरूले संसद् अधिवेशनको पहिलो बैठकमै ‘प्रतिवाद’ गर्ने भएका छन् । सोमबार (वैशाख २८) दिउँसो २ बजेदेखि सुरु हुन लागेको बजेट अधिवेशनको पहिलो बैठकमै सरकारको विरोध गर्ने तयारी गरिएको हो ।
विभिन्न अध्यादेश, सुकुम्वासी बस्तीमा डोजरलगायत विषयमा सरकारले चालेका कदमप्रति प्रतिवाद गरिने प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक रहेका आरेन राईले बताए ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालसँगको भेटमा आफूहरूलाई बोल्नका निम्ति समय छुट्ट्याउन माग गरेको उनले जानकारी दिए । उनले भने, ‘हाम्रो मागमा सभामुखज्यू सकारात्मक हुनुहुन्छ । हामीले हाम्रो कुरा राख्छौँ ।’
सोमबारै बिहान सभामुख अर्यालसँग भएको भेटमा विपक्षी दलका प्रमुख सचेतक सहभागी थिए ।