नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले प्रदेश १ को राजधानी विराटनगरमा शनिबार (आज) शक्ति प्रदर्शन गर्दैछ । ओलीले गत पुस ५ गते संसद् भंग गर्दै घोषणा गरेको मध्यावधि निर्वाचन गराएरै छाड्ने सन्देश दिन शक्ति प्रदर्शन गर्न लागेको सो समूहले बताएको छ ।
सरकारको नेतृत्व गरिरहेको ओली समूहले प्रदर्शन र जनसभामार्फत वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिने बताइएको छ। त्यस्तै एक्कासि सिर्जना भएको संसद विघटन गर्नैपर्ने बाध्यात्मक अवस्था र त्यसको औचित्यका सन्दर्भमा पनि कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले प्रष्ट पार्ने नेताहरुले बताएका छन्।
शक्ति प्रदर्शनपछिको आमसभा स्थल विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा तयार पारिएको छ। कार्यक्रमस्थल सिङ्गार्नेदेखि लिएर सभा आयोजनाका लागि आवश्यक तयारी र व्यवस्थापनका सबै काम पूरा भइसकेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए।
कार्यक्रमलाई लक्षित गरेर बिहानैदेखि विराटनगरका चोकचोकमा राष्ट्रिय भावनाले ओतप्रोत भएका र ओलीको समर्थनमा बनेका गीतहरु घन्काइएको छ। दुई साता अघिदेखिनै कार्यक्रमको तयारी थाल्दै ओली समूहले माइकिङ र प्रचारप्रसारको कामलाई तीव्र पारेर लगेको थियो। सभामा प्रदेश भरीबाट दुई लाख हाराहारी समर्थक उतार्ने ओली समूहको दाबी छ। आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, ओली समूहका नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।