वागमती प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित

राम्रो अनलाइन     ०५ फागुन २०७७, बुधबार

बुधबार दिउँसो २ बजेका लागि तय गरिएको वागमती प्रदेशसभाको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालका अनुसार बिहान ६ : ३७ बजे सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि वागमती प्रदेशसभाको बैठक अन्यौलपूर्ण बनेको छ ।

मन्त्री फुयालका अनुसार हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर सघन छलफल भएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

ठोस सहमति जुट्न नसकेको अवस्थामा सदन चलाउँदा झन् अन्यौलता र गतिरोध देखापर्ने भन्दै राजनीतिक सहमति जुटाउन सभामुखको अधिकार प्रयोग गरेर प्रदेशसभाको बैठक स्थगित गरिएको उनले बताएका छन् ।

“हिजो बेलुका सभामुखले अष्टलक्ष्मी शाक्य, शालिकराम जम्कट्टेल, रामेश्वर फुयाल, केशव पाण्डे, राजेन्द्र पाण्डे, प्रतिपक्षी दलका नेता इन्द्र बानियाँबीच छलफल चलाउनुभयो', उनले भने, 'मतदानसम्बन्धी कार्यविधि बनाउन गठन गरिएको छिरिङदोर्जे लामा संयोजक राजेन्द्र पाण्डे, केशव पाण्डेलगायत सदस्य रहेको कार्यदलले प्रतिवेदन बुझाइ नसकेको र राजनीतिक समझदारीका साथ प्रदेशसभा अगाडि बढाउन के गर्न सकिन्छ भनेर छलफल भएको थियो ।'

प्रतिक्रिया