टुँडिखेलबाट जंगीअड्डा पन्छिनुपर्छ, पन्छिएन भने लखेटिनेछ : खगेन्द्र संग्रौला

राम्रो अनलाइन     ०७ फागुन २०७७, शुक्रबार
टुँडिखेलबाट जंगीअड्डा पन्छिनुपर्छ, पन्छिएन भने लखेटिनेछ : खगेन्द्र संग्रौला

शुक्रबार राजधानी काठमाडौंको टुडिखेलमा नागरिक अगुवाहरूले बृहत् नागरिक आन्दोलन गरे । उनीहरूले टुँडिखेल वरपर मार्चपासपछि महांकालमा कोणसभा सम्पन्न गरे । कोणसभामा बोल्दै लेखक खगेन्द्र संग्रौलाले सेनाको सैनिक मञ्च टुँडिखेलबाट हट्नुपर्ने बताए । नहटे जनताले हटाउने चेतावनीसमेत दिए । प्रस्तुत छ उनले सभामा प्रस्तुत गरेको मन्तव्यको अंश :

आन्दोलनमा आएको एक जना भाइले भन्नुभयो, 'आज नागरिकहरूको उपस्थिति यति पातलो किन?'

मैले भनेँ, 'नागरिक आन्दोलनमा नागरिकको टाउको गनेर त्यसको शक्तिको मापन हुँदैन। नागरिक आन्दोलनमा तैनाथ प्रहरी भाइबहिनीका टाउका गनेर शक्ति नापिन्छ।' 

आज यो सभामा जति नागरिकहरूको सहभागिता छ, त्यो भन्दा बढी प्रहरी भाइबहिनीको सहभागिता छ। यसको अर्थ, तानाशाह जब डराउँछ, नागरिकका अगाडि आफूसँग भएका सबै शक्ति पठाउँछ। प्रहरी पठाउँछ, सेना पठाउँछ, ट्यांक पठाउँछ, तोप पठाउँछ। त्यसैले नागरिक आन्दोलन तपाईंहरू सबैको प्रत्यत्नबाट बलियो भइरहेको छ। यो हाम्रो जित हो।

म तपाईंहरूलाई अभिवादन गर्छु। र यो आन्दोलनमा नागरिकहरूको आवाज सुन्न उपस्थित हुनुभएका सुरक्षाकर्मी भाइबहिनीलाई पनि सलाम गर्छु। 

यो काठमाडौं सहर हो, देशको राजधानी पनि हो। कुनै पनि सहरका, अझ राजधानी सहरका केही विशेषता हुन्छन्, गुण हुन्छन्। सभ्य सहरमा एउटा पेटी हुन्छ जहाँ नागरिक एकअर्कालाई नछोइकन हिँड्न सक्छन्। प्रत्येक सभ्य सहरमा साइकल चलाउने लेन हुन्छ जहाँ मानिस साइकल चलाउन सक्छन्। प्रत्येक सभ्य सहरमा सडकका दायाँबायाँ रूखहरू हुन्छन्, रूखले सहरलाई शोभा दिन्छ। नागरिकलाई स्वस्थ बनाउँछ। प्रत्येक सभ्य सहरमा पुष्पबाटिका हुन्छ, पार्क हुन्छ, जहाँ मानिसहरू आराम गर्छन्, मनोरञ्जन गर्छन्। प्रत्येक सभ्य सहरमा व्यवस्थित पुस्तकालय हुन्छ, नाट्यगृह हुन्छ।

तर यो काठमाडौं सहरमा मैले अहिले भनिरहेका केही छैन। जे हुनुपर्ने त्यो छैन, जे हुनुनपर्ने त्यो छ। हुनु नपर्ने एउटा के भने, राजधानी सहरको बाक्लो बस्ती बीचमा जंगी अड्डा छ। 

कुनै पनि सभ्य सहरको बाक्लो बस्ती बीचमा जंगी अड्डा हुँदैन। जंगी अड्डामा के हुन्छ? बारूदको थुप्रो हुन्छ, जिलेटिन हुन्छ, बम हुन्छ, तोप हुन्छ, मेसिनगन हुन्छ जसले विनाश गर्छ। संसारैभरि तानाशाहहरू जहिले पनि जनतासँग डराउँछन्। तानाशाह जब जनतासँग डराउँछन्, तिनले आफ्नो दरबारको बलेसीमा प्रहरी-सेनाको जमात लगाउँछन्। तानाशाह जब डराउँछ, आफ्नो बलेसीमुनि जंगी अड्डा बनाउँछ। यो जंगी अड्डा पनि त्यसरी नै बनाइएको हो।

हामी आज टुँडिखेल हाम्रो हो भन्न आएका छौं। अघिल्लो नागरिक आन्दोलनमा मलाई सम्झना छ, रत्नपार्क हाम्रो भन्न आएका थियौं। कुनै पनि देशको सेना वास्तवमा बस्तीभन्दा धेरै टाढा बस्छ। सेना सामान्यतः नागरिकले देख्नेगरी कहीँ पनि आउँदैन। दुई अवस्थामा मात्रै आउँछ, ठूलो प्राकृतिक विपदमा राहत र सुविधाका निम्ति र गृहयुद्ध वा सिमाना युद्ध भएमा।

सैनिक जवानहरू सहरका बीचमा बिहानबिहान 'आइइ लभ यू' भन्दै कहीँ कुद्दैनन्। यहाँ सेनाले नागरिक खेल्ने-डुल्ने टुँडिखेल पनि कब्जा गरेको छ। आज हामीले भन्यौं, टुँडिखेल नागरिकको हो। टुँडिखेल नेपालीको हो। तर हामीलाई टुँडिखेलमा पस्न दिइएन।

यहीबेला टुँडिखेलभरि कुकुरहरू स्वच्छन्द घुमिरहेका छन्। हामी नागरिकलाई यो राज्यले कुकुर जति पनि इज्जत दिएन। टुँडिखेलमा पस्नै दिएन। बालुवाटारको आदेशमा टुँडिखेलका ढोका सबै बन्द भएका छन्। 

तर मेरा आदरणीय मित्र कृष्ण खनालले अघिल्लो भाषणमा भन्नुभएको थियो- नागरिक आन्दोलन त्यो बेलासम्म रहन्छ, जब यो विश्वको एउटासम्म नागरिक रहन्छ।

अधिकार जहिले पनि जोखिममा हुन्छ। तानाशाहले जहिले पनि अधिकार खोस्न चाहन्छ र जीवनलाई सीमित बनाउन चाहन्छ। सबैलाई कमारो बनाउन चाहन्छ। त्यसैले आज हामीले टुँडिखेल नागरिकको हो भनेर उद्घोष गरेका छौं। टुँडिखेल नागरिकको हुनेछ। आज टुँडिखेलको ढोका खोलिएन, ढोका सधैं बन्द रह्यो भने फोडिनेछ। 

यो नागरिकहरूले फोड्नै पर्दैन। सहरमा बसिरहेका सभ्य नागरिकले पार्क बनाउन, वृद्धवृद्धा आराम गर्न, मनोरञ्जन गर्ने र केटाकेटी खेल्ने ठाउँ बनाउन टुँडिखेल कब्जा गर्नेछन्। टुँडिखेललाई पार्कमा परिणत गरिनेछ। यो सेनाको ठाउँ होइन।

जंगीअड्डा एकलासमा हुनुपर्छ, एकान्तमा हुनुपर्छ। त्यसले आफ्नो पेसाअनुसार आफ्नो गोपनीयता कायम गर्दै आफ्नो काम गर्ने हो। टुँडिखेल नागरिकको हो, नेपालीको हो, टुँडिखेलबाट जंगीअड्डा पन्छिनुपर्छ। पन्छिएन भने लखेटिनेछ।

प्रतिक्रिया