ठेक्का सम्झौताको सात वर्षसम्म पनि बनेन पुल

राम्रो अनलाइन     २६ असार २०८१, बुधबार
ठेक्का सम्झौताको सात वर्षसम्म पनि बनेन पुल

 

घोरही– निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण ठेक्का सम्झौताको सात वर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको पुलको दुई वटा पिल्लर मात्र ठडिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१३, गिधनियास्थित तुईखोलामा पुल निर्माणका लागि २०७४ सालमा २०७६ असोज मसान्तमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । 

सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको ठेक्का नेपालगन्जको एडभेन्चर जेभीले पाएको थियो । ठेक्का सम्झौता अनुसार निर्धारित समयमा पुल नबने पनि चार पटक म्याद थप भइसकेको छ । चौथो पटक थप भएको म्याद अनुसार २०८० असार १४ सम्म निर्माण भइसक्नुपर्ने थियो तर निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण निर्माणको कुनै काम हुन नसकेको स्थानीय अरुण नेपालीले बताए । 

काम सुरु भएको यत्तिका वर्षसम्म पुल निर्माण नहुँदा सर्वसाधारणले निकै दुःख पाएका छन् । नेपालीले भने, 'पुल निर्माणको काम सुरु हुँदा जनतामा खुसी छाएको थियो । बर्खाका बेला जोखिम मोलेर नदी तर्नुपर्ने दुःख हट्ने भयो झैँ लागेको थियो तर ठेकेदारले काम नै नगर्दा अब त पुल पनि बन्दैन कि झैँ लाग्छ ।' उनका अनुसार ७१ मिटर लम्बाइको पुल सात वर्षसम्म बन्न सकेको छैन । पुल निर्माण हुन नसक्दा स्थानीयलाई हिँडडुल गर्न साथै बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या हुने गरेको छ । 

निर्माण व्यवसायीलाई निर्माण कार्य अगाडि बढाउन आग्रह गर्दासमेत काम अघि नबढाएकाले ठेक्का तोडिएको सडक डिभिजन दाङका इन्जिनियर महेश विकले जानकारी दिएका छन् । ठेक्का तोडिएपछि निर्माण व्यवसायीले अदालतमा मुद्दा दायर गरेका छन् । 'मुद्दा परे पनि केही समय काममा ढिलाइ होला,' उनले भने, 'अब नयाँ आर्थिक वर्षको भदौमा नयाँ टेन्डर गरेर पुल निर्माणको कामलाई अघि बढाउने तयारीमा छौँ ।' निर्माण व्यवसायीको लापर्बाही र अटेरीका कारण पुल निर्माणमा ढिलाइ भएको दाबी उनको छ । इन्जिनियर विकले भने, 'पुल निर्माणका लागि पटक पटक आग्रह गर्यौँ तर निर्माण व्यवसायीले काम गर्ने चासो नै नदेखिएपछि अहिले ठेक्का रद्द गरेर नयाँ प्रव्रिmया थाल्नुपर्ने अवस्था आएको हो ।'

निर्माण व्यवसायीको लापर्बाहीका कारण दुई वर्षमा बन्नुपर्ने पुल सात वर्षसम्म बन्न नसक्दा ठेक्का तोड्न बाध्य भएको भनाइ उनको छ । ठेक्का रद्दविरुद्ध निर्माण व्यवसायीले दिएको मुद्दा पनि अदालतले खारेज गरिदिएको उनले सुनाए । छ करोड ८२ लाख ३७ हजार लागतमा उक्त पुल निर्माणका लागि ठेक्का भएको थियो । 

प्रतिक्रिया