अहिलेको युगले थोरै समय र लगानीबाट ठूलोभन्दा ठूलो परिणाम प्राप्त गर्ने प्रविधि र कौशल हासिल गरेको छ। हरेक क्षेत्रमा प्रचलित सम्पूर्ण प्रविधि (मेसिन/ पद्धति) ले हाम्रो दिनचर्यालाई निकै सहज बनाएका छन्। केही दशकअगाडि महिनौँ लाग्ने कामहरू अहिले केही छिनमै सम्पन्न हुन्छन्।
यो तीव्रतम विकासले हामी पनि तत्काल परिणाम खोज्ने भएका छौँ। आजको भोलि नै परिणाम प्राप्ति हुनुपर्छ भन्ने आममनोविज्ञान निर्माण भइरहेको छ। मानिस जुनसुकै कुरा पनि सहज र सरल मार्गबाट प्राप्त गर्न चाहन्छ। कठिन, लामो र झन्झटिलो विषयले जति नै राम्रो र दिगो परिणाम ल्याउने भए पनि त्यसतर्फ मानिसको आकर्षण निकै कम छ।
सभ्यता विकाससँगै निम्तिएका दीर्घरोगहरूले मानिसलाई दिनानुदिन प्रताडित बनाइरहेका छन्। संक्रमणजन्य रोगहरूमा मानव सभ्यताले एक हदसम्म सफलता पाए पनि दीर्घरोग अर्थात् ‘क्रोनिक डिजिज' सबैभन्दा ठूलो समस्याका रूपमा देखापरेका छन्। दीर्घरोग न्यूनीकरण वा नियन्त्रणका लागि सर्वाधिक लाभप्रद मानिएपछि योग अहिले विश्वव्यापी बनेको छ। तर, योग गर्नसमेत मानिसहरू आफ्नो समय नभएको गुनासो गर्छन्। ‘पेन किलर' खाएर तत्काल आराम खोज्न अभ्यस्त मानिसलाई योग, लामो र झन्झटिलो प्रक्रिया प्रतीत भइरहेको छ।
योगासनका लागि निश्चित अवस्था, समय र वातावरणको आवश्यकता पर्छ। योग गर्ने समय मिलाउन सकिएन भन्नेका लागि योगशास्त्रसँग सम्बन्धित मुद्रा शारीरिक स्वास्थ्य र मानसिक आनन्दका लागि अत्यन्तै सजिलो विधि हो। गाडीमा बसिरहँदा, कसैसँग कुरा गरिरहँदा वा कार्यालयमा बसिरहँदा पनि मुद्राको अभ्यास गर्न सकिन्छ। कम समय, बृहत् र व्यवस्थित प्रयत्नबिना नै मुद्राबाट ठूलो लाभ लिन सकिन्छ। त्यसकारण वर्तमान युगका लागि मुद्रा अभ्यास तुलनात्मक रूपमा सहज र सरल छ।
मुद्रालाई पाँच वर्गमा विभक्त गरिएको छ– हस्त मुद्रा, मन मुद्रा, बन्ध मुद्रा, आधार मुद्रा र काया मुद्रा।
हस्त मुद्रा

हस्त मुद्रा विभिन्न छन्। खास गरी बुढी औँला र चोर औँलालाई जोडेर गरिने ज्ञान मुद्राका बारेमा हामी धेरथोर जानकार छौँ। समाजमा प्रचलित ध्यानमा ज्ञान मुद्राको अत्यधिक प्रयोग भइरहेको देख्रिन्छ। हस्त मुद्रामध्ये हामीले प्राण मुद्राबाट बढी लाभ लिन सक्छौँ। प्राणशक्तिलाई बढाउने भएकै कारण यसको नाम प्राण मुद्रा रहेको हो।
प्राणसामथ्र्य बढ्नासाथ शारीरिक र मानसिक शक्ति बढ्छ। उक्त शक्तिले तनाव घटाउँछ र सिर्जनात्मक क्षमता बढाउँछ। मानसिक तनाव नहुनेबित्तिकै शारीरिक र मानसिक रूपमा स्वस्थ रहन मद्दत पुग्छ। कसैसँग कुराकानी गरिरहँदा पनि यो मुद्रा प्रयोग गर्न सकिन्छ।

मन मुद्रा

मनसँग सम्बन्धित मुद्राहरू मन मुद्राअन्तर्गत पर्छन्। मन मुद्राअन्तर्गत शाम्भवी मुद्रा शारीरिक र मानसिक स्वास्थ्यका लागि अत्यन्तै प्रभावकारी मानिन्छ। घेरण्ड संहितामा भनिएको छ– सत्यं सत्यं पुनः सत्यं सत्यमाह महेश्वरः। शाम्भवीं यो विजानीयात्स च ब्रह्म न चान्यथा।' अर्थात्, शाम्भवी मुद्राको ज्ञाता आफैँ ब्रह्मस्वरूप हुन्छ। यो कथनले नै शाम्भवी मुद्राको महत्व स्पष्ट हुन्छ।
सन् २०१६ मा भारतस्थित इसा फाउन्डेसनले शाम्भवी मुद्रामा आधारित भएर अनुसन्धान गरेको थियो। अनुसन्धानले शाम्भवी मुद्राको अभ्यासबाट दमको रोगमा ७९ प्रतिशत, माइग्रनेमा ९० प्रतिशत, मधुमेहमा ७१ प्रतिशत, अनिद्रामा ८४ प्रतिशत र डिप्रेसनमा ९० प्रतिशत लाभ हुने तथ्य सार्वजनिक गरेको थियो।
बन्ध मुद्रा

* बन्ध तीन प्रकारका हुन्छन्।
* मूल बन्धः मलद्वारलाई ‘टाइट' पार्नु।
* उड्डियान बन्धः सम्पूर्ण श्वास फालेर पेटलाई ‘टाइट' पार्नु।
* जालन्धर बन्धः चिउँडो झुकाएर छातीतर्फ लग्दै घाँटीलाई बन्द पार्नु।
त्रिबन्ध/महाबन्ध विधिः माथिका तीन वटै बन्धहरूलाई एकैपटक गर्नु नै त्रिबन्ध वा महाबन्ध हो। तीन वटै बन्धहरूको लाभ दिने महाबन्ध अभ्यास गर्न सकिन्छ। तुरुन्तै ऊर्जा प्रवाहका लागि महाबन्ध अत्यन्त उपयोगी हुन्छ। खास गरी, हामीलाई कुनै काम तुरुन्त गर्नुपर्ने छ, तर उक्त काम गर्ने ‘मुड' निर्माण भएको छैन भने महाबन्धको अभ्यासले तत्काल मानसिक ताजगी र शारीरिक स्फूर्ति प्राप्त हुन्छ। उच्च रक्तचाप तथा मुटुको रोग हुनेहरूले श्वास रोक्न नमिल्ने भएका कारण यो बन्ध गर्न मिल्दैन। खाली पेट छ भने महाबन्ध जुनसुकै अवस्थामा पनि गर्न सकिन्छ।
आधार मुद्रा
वज्रौली, सहजोली र अश्विनी मुद्राहरू आधार मुद्राअन्तर्गत पर्छन्। मूलाधार चक्र (लिंग/योनी र मलद्वारको बीचको भाग) सँग सम्बन्धित मुद्राहरू नै आधार मुद्रा हुन्। आधार मुद्रा अन्तर्गतको अश्विनी मुद्रा प्रयोगको हिसाबले सजिलो मानिन्छ। अश्विनी अश्व शब्दबाट आएको हो। अश्व भनेको घोडा हो।

अश्विनी मुद्रा घोडाको शक्तिलाई आधार बनाएर प्रयोगमा ल्याइएको बताइन्छ। घोडाले सामान्यतः आराम गर्दैन। घोडा प्रायः बसेको पनि देखिँदैन। घोडाको शक्तिलाई नै आधार बनाएर शक्तिमापन इकाईलाई ‘हर्सपावर' भनिएको हो। घोडाले आफ्नो मलद्वारलाई तान्ने र छाड्ने गरिरहन्छ।
यो कार्यले नै ऊ अत्यधिक शक्तिशाली भएको हो। अश्विनी मुद्रामा पनि मलद्वारलाई खुम्च्याएर तान्ने र छाड्ने गरिन्छ। जसबाट मानसिक र शारीरिक शक्ति प्राप्त हुन्छ। अहिलेको समयको मानिस अत्यन्त व्यस्त छ। धेरै काम भ्याउन पर्दा बढी ऊर्जाको आवश्यकता पर्नु स्वाभाविक हो। आवश्यक ऊर्जा पूर्तिका लागि अश्विनी मुद्रा प्रभावकारी हुन्छ।
काया मुद्रा
काया भनेको शरीर हो। सम्पूर्ण शरीरले गर्ने मुद्रा भएको कारण यसलाई काया मुद्रा भनिएको हो। काया मुद्रा विभिन्न छन्। काया मुद्रामा सम्पूर्ण शरीर नै सहभागी हुने भएकाले यी मुद्रा गर्न विशेष स्थान आवश्यक पर्छ। अन्य वर्गका मुद्रा जस्तो सामान्य अवस्था र परिवेशमा काया मुद्रा गर्न सकिन्न। काया मुद्रामध्ये विपरीत करणी मुद्रा अत्यन्त प्रभावकारी मानिन्छ।

अधिकांश मुद्राको अभ्यास अत्यन्तै सहज छ। जसका लागि अतिरिक्त समयसमेत छुट्याउनुपर्दैन। समयको वचतसँगै कम मेहनत र अभ्यासबाट उच्च प्रतिफल दिने मुद्रा प्रयोग वा अभ्यास आजको आवश्यकता हो।
बक्समा
प्राण मुद्रा विधि
बुढी, कान्छी र साइँली औँला जोड्ने।
प्राण मुद्राबाट हुने फाइदा
* थकान मेटाउँछ
* तनाव कम हुन्छ
* धैर्य वृद्धि हुन्छ
* बिर्सने समस्याबाट मुक्ति पाइन्छ
विभिन्न दुखाइमा लाभ पुग्छ
शाम्भवी मुद्रा विधि
ढाड सीधा पारेर कुनै पनि आसनमा बस्ने। दुवै आँखालाई तेस्रो नेत्र ( दुई आँखीभुइँको बीच भाग) मा केन्द्रित गर्ने (हेर्ने) ।
शाम्भवी मुद्राबाट हुने फाइदाः
* डिप्रेसनलगायत मानसिक रोगहरूमा फाइदा पुग्छ
* आँखाको तनाव घटाउँछ
* क्रोध नियन्त्रण गर्न सघाउँछ
* विचारमाथि नियन्त्रण हुने हुँदा धैर्य बढ्छ
* दमको रोगमा फाइदा हुन्छ
* माइग्रेन र अनिद्राको समस्याबाट मुक्ति मिल्छ
* मधुमेहमा फाइदा हुन्छ
महाबन्ध विधि
ढाड सोझो पारेर बस्ने, पूरै श्वास बाहिर फाल्ने, मलद्वारलाई टाइट पार्दै पेटलाई भित्र खिच्ने र चिउँडोलाई छातीतर्फ खिच्ने (झुकाउने)।
महाबन्धका फाइदा
*घाँटीसम्बन्धी सम्पूर्ण रोगमा फाइदा पुर्याउँछ
* किड्नी, फियो, फोक्सो र कलेजो मजबुत हुन्छन्
* कब्जियत, अपच, मधुमेह, अल्काई, ब्रोङ्काइटिस जस्ता रोगमा फाइदा पुर्याउँछ
* बुढ्यौली नियन्त्रणमा सहयोग पुर्याउँछ
अश्विनी मुद्रा विधिः
ढाडलाई सीधा बनाएर बस्ने र श्वास बिस्तारै तान्दै मलद्वारलाई खुम्च्याउने, एक क्षण श्वास रोकेर मलद्वारलाई खुम्च्याइरहने र श्वास छाड्दै मलद्वारलाई खुकुलो पार्ने। श्वाससम्बद्ध विधि गर्न नमिल्ने अवस्था छ भने मलद्वारलाई खुम्च्याउने र छाड्ने मात्र पनि गर्न सकिन्छ।
अश्विनी मुद्राका फाइदा
*कब्जियतबाट मुक्ति पाइन्छ
* पाठेघरसम्बन्धी रोगमा फाइदा पुग्छ
* अल्काई, पाइल्स लगायत पेटका सम्पूर्ण रोगमा लाभप्रद हुन्छ
* विपरीत करणी मुद्रा विधि
* शव आसनमा सुत्ने र बिस्तारै दुवै गोडालाई माथि उठाउँदै लैजाने। दुवै हातले ठेल्दै कम्मरलाई माथि उठाउँदै जाने र यथाशक्य रोकिने।
विपरीत करणी मुद्राका फाइदा
* घाँटीसम्बन्धी रोगमा फाइदा पुग्छ
* रुघाकोखोकीमा लाभ हुन्छ
* शरीर सुन्निने रोगबाट मुक्ति पाइन्छ
* पेट तथा टाउकोसम्बन्धी रोगमा फाइदा पुग्छ
* अल्काई र फिस्टुलामा लाभ हुन्छ
* स्मरणशक्ति वृद्धि हुन्छ