‘स्टुडियो अर्कै ग्रहजस्तो लाग्यो’

राम्रो अनलाइन     १३ माघ २०७७, मङ्गलबार
‘स्टुडियो अर्कै ग्रहजस्तो लाग्यो’

संगीतमा पहिलो 

दुई दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक भीषण मुकारुङको गीत ‘अँधेरीमा जुन फुल्दा’ कुनै समय रेडियोमा चर्चित थियो । पछिल्लो समय भीषणको आफ्नै शब्द, संगीत र स्वर रहेको गीत ‘खोर्सानी डल्ले’ चर्चामा छ । उनले संगीतमा संघर्ष गर्दाका पहिलो अनुभव ‘सम्पूर्ण’ का लागि गोपाल दाहालसँग बाँडेका छन् । 


रेकर्ड भएको पहिलो गीत 

भोजपुरमा कक्षा छ पढ्दादेखि नै स्कुल र गाउँमा गीत गाउँथेँ । त्यतिबेलै ‘यसले राम्रो गाउँछ’ भनेर सबैले हौसला दिन्थे । एसएलसी सकेर कलेज पढ्न इटहरी झरियो । त्यही बेला २०४९÷०५० सालतिर दाजु पारस मुकारुङको एकल संगीतमा एल्बम निस्किने भयो । दाजुको एल्बम ‘फेरि याद आयो’का लागि रमेश क्षितिजको शब्दमा ‘वसन्त लाग्यो क्यारे’ बोलको गीत रेकर्ड गरेँ ।

गीत रेकर्ड गर्नका लागि काठमाडौँ आएको थिएँ । त्यो बेला गीत गाउन पाउनु नै ठूलो कुरा थियो । एउटा प्राइभेट स्टुडियोमा रेकर्ड गर्न गइयो । उमेर पनि कच्चा नै थियो । अनुभव थिएन । स्टुडियो भन्नेबित्तिकै अर्कै ग्रहजस्तो लाग्थ्यो । डर धेरै लाग्थ्यो । रेकर्डमा धेरै टेक खाएँ । त्यो भन्दाअघि कहिले स्टुडियो छिरेको थिइनँ । अहिले सम्झिँदा किन त्यति सारो डराएछु जस्तो लाग्छ । 

हिट भएको पहिलो गीत 

अहिलेसम्म मेरा तीन सयजति गीत रेकर्ड भए । त्यसमध्ये २०५८ सालमा रेकर्ड भएको गीत ‘अँधेरीमा जुन फुल्दा’ले मलाई संगीत क्षेत्रमा स्थापित गरायो । नवीन दाहालको शब्द, पारस मुकारुङको संगीतमा मेरो आफ्नै एल्बम ‘विश्वासको बन्धन’मा समावेश भएको यो गीत म्युजिक नेपालमा रेकर्ड भएको थियो । 

पहिलो म्युजिक भिडियो

पहिला भिडियो बनाउन महँगो थियो । आर्थिक कारणले मैले सुरुका कुनै गीतको भिडियो बनाउन सकिनँ । २०६२÷०६३ सालतिर मेरो एल्बम ‘सक्सेस’ को गीत ‘मेरो मुटु भन्छ्यौै मलाई’ को पहिलो भिडियो बन्यो । पहिला आफ्नो स्वर मात्र सुन्न पाइन्थ्यो । भिडियोमा आफू पनि देखिन पाउँदा रमाइलो लाग्यो । 

पहिलो संगीत

मैले पहिलो पटक संगीत गरेको एउटा राष्ट्रिय भावको गीत थियो । त्यो पावल चाम्लिङले गाएका थिए । अहिलेसम्म करिब २० वटामा संगीत भरेँ  । त्यसमा अहिले बजारमा आएको आफ्नै गीत ‘खोर्सानी डल्ले’ले बढी चर्चा पायो । युट्युबमा करिब नौ लाखले भिडियो हेरेका छन् । स्रोताले यति धेरै मन पराइदिएको मेरो संगीतको गीत यही नै हो । यसैले गर्दा कार्यक्रममा पनि व्यस्त बनियो ।

पहिलो अन्तर्वार्ता

‘अँधेरीमा जुन फुल्दा’ गीत बजारमा आएपछि रेडियो नेपालमा २०५८ तिर अमरध्वज लामाले पहिलो पटक अन्तर्वार्ता लिनुभएको थियो । पहिलादेखि गायक हुन्छु भन्ने ठूलो सपना थियो । गायककै हैसियतमा अन्तर्वार्तामा जाँदा एकदम खुशी थिएँ । त्यो बेला रेडियो नेपालको ठूलो प्रभाव थियो । के बोल्ने, कसो बोल्ने भन्ने लाग्यो । अलि अप्ठ्यारो पनि लाग्यो । लाइभ इन्टरभ्यूमा धेरै डराएको थिएँ । मान्छेले कसरी जाँचिरहेका होलान् भन्ने लाग्थ्यो । 

पहिलो कन्सर्ट

भोजपुरमा २०५८ सालमा पहिलो कला साहित्य संगीत महोत्सव भएको थियो । मैले आफ्नो एल्बम त्यही महोत्सवमा विमोचन गरेँ । पहिला पनि सानातिना कार्यक्रममा त गाएको थिएँ तर त्यहाँ महोत्सवमा हजारौँ मान्छेमाझ एल्बमको गीत ‘अँधेरीमा जुन फुल्दा’ पहिलो पटक गाएँ । आफ्नै ठाउँ भएकाले आत्मविश्वास थियो । स्रोता दर्शकले पनि खूब मन पराए । एक सयजति एल्बम पनि लगेको थिएँ, तुरुन्तै सबै बिक्री भयो । एल्बम नपुगेर मान्छेले डबिङ पनि किनबेच गरे । त्यो गीत पनि रेडियोमा बज्न थालेपछि हिट भयो ।

पहिलो पारिश्रमिक

२०५१ सालतिर विराटनगरमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा टप १० भएपछि रेडियोमा रेकर्ड गर्न बाटो खुलेको थियो । तर, त्यसअघि नै पारस दाजुको संगीतमा एउटा राष्ट्रिय गीतमा समूहमा गाउन रेडियो नेपाल पुगेको थिएँ । त्यो गीत रेकर्ड भइसकेपछि ५० रुपैयाँ पाएँ । त्यतिबेलासम्म गीत गाउँदा पैसा पाइन्छ भन्ने थाहै थिएन । पैसा पाउँदा अचम्म लाग्यो । 
 

प्रतिक्रिया