काठमाडौँ । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउनेबारे आज तीन दलबीच वार्ता हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच वार्ता हुन लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे आफ्नै निवास बुढानिलकण्ठमा सत्ता समीकरणबारे छलफल गर्न बैठक बोलाएका उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
कांग्रेसले अघिल्लो शुक्रबार केन्द्रीय कार्यसमिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र पार्टीकै नेतृत्वमा गठबन्धन सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप सभापति देउवाले माओवादी र जसपाको बैठक बोलाएका हुन् ।