स्थानीय प्रशासनले कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साताका लागि गरेको निषेधाज्ञा १५ दिनसम्म लम्बिने
राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
स्थानीय प्रशासनले कम्तीमा १५ दिन निषेधाज्ञा गर्नुपर्ने

काठमाडौँ । सरकारले कोभिड १९ भाइरसका संक्रमित संख्या हेरेर निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्लाहरूलाई नै दिएको छ । मन्त्रिपरिषद् बैठकले पहाडी, हिमाली जिल्लामा सक्रिय संक्रमित २ सय र काठमाडौं उपत्यका र तराईमा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएको हो । 

उल्लेखित संख्या पुगेका स्थानमा कम्तीमा १५ दिन निषेधाज्ञा लागू गर्नुपर्ने निर्देशन पनि मन्त्रिपरिषद्ले दिएको हो । एक मन्त्रीले कोभिड संक्रमणको अवस्था अध्ययन गरेर स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन सक्ने अधिकार सोमबारको मन्त्रिपरिषद बैठकले दिएको बताए।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले वैशाख १६ गतेदेखि २२ गतेसम्म एक साता मात्रै निषेधाज्ञा लागु गर्ने गरी सोमबार नै निर्णय गरेका थिए । मन्त्रिपरिषद निर्णयअनुसार अब यी जिल्लामा पनि कम्तीमा १५ दिन निधेषाज्ञा लागु हुनेछ ।

तोकेको क्रइट एरिया पुगेका जिल्लामा मात्रै  निषेधाज्ञा लागु हुनेछ । कहाँ निषेधाज्ञा गर्ने स्थानीय प्रशासनले नै अध्ययन गरेर निषेधाज्ञा आदेश गर्ने ती मन्त्रीले बताए ।

स्थानीय प्रशासनले अकस्मात निषेधाज्ञा जारी गर्न भने नपाउने भएको छ। सर्वसाधारणलाई केही दिन समय दिनुपर्ने गरी निषेधाज्ञा जारी गर्न पाइनेछ। 
एक साताको निषेधाज्ञाले कोभिड संक्रमणको चेन ब्रेक नहुने भन्दै मन्त्रिपरिषद्ले १५ दिन गर्न भनेको हो ।  कम्तीमा १४ दिनमा चेन ब्रेक हुने अनुभवले देखाएकाले  १५ दिन निषेधाज्ञा गर्ने भनिएको ति मन्त्रीले बताए । 

सरकारले सबै तहका परीक्षा हालका लागि रोकेको छ। निषेधाज्ञा लागेका र नलागेका ठाउँमा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ। अनलाइनबाट पठनपाठनलाई निरन्तरता दिने सरकारको भनाइ छ। नेपाल भित्रिने नेपालीलाई सरकारले सीमामा पीसीआर परीक्षणको व्यवस्थापन गर्ने र होल्डिङ सेन्टरमा राख्ने भएको छ।

तर विदेशीका हकमा पिसीआर रिपोर्ट नेगेटिभ लिएर आएका छन् भने पनि अनिवार्य रूपमा १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । 

विदेशीका हकमा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाए पनि १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले बनाएको छ र कडाइका साथ लागू गर्न भनेको छ । 

मन्त्रिपरिषद्ले तत्काल आन्तरिक र अन्तर्राष्ट्रिय उडान भने सुचारू राख्ने निर्णय गरेको छ। उडानबाट आएका विदेशी होटलमा र नेपाली घरमै क्वारेन्टिनमा बस्नु पर्नेछ। एक सातापछि अवस्था हेरेर सरकारले यसबारे थप निर्णय गर्नेछ।

निषेधाज्ञा जारी भएका जिल्लाहरूमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने छैनन्। अत्यावश्यक सेवाका सवारी भने चल्नेछन्। पासवाला र विमानस्थल जाने सवारीलाई चल्न दिइनेछ। 

प्रतिक्रिया