सरकारका प्रवक्ताले भने– कीर्तिपुर मैदान भत्काइँदैन

राम्रो अनलाइन     १४ वैशाख २०८३, सोमबार
सरकारका प्रवक्ताले भने– कीर्तिपुर मैदान भत्काइँदैन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदमन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने बताएका छन् । 

सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले कीर्तिपुर रंगशालाका विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) का पदाधिकारीसँग सकारात्मक बैठक भएको बताए । सरकारका प्रवक्ता समेत रहेका उनले रंगशालाका बारेमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा नभत्काइने स्पष्ट पारेका हुन् ।

‘आज मेरो त्रिविका उपकुलपतिलगायत पदाधिकारीहरूसँग कुरा भएको छ । खाली गराउने नै चाहिँ हाम्रो उद्देश्य होइन । त्यो लिजमा लिइएको जग्गा भएकोले नवीकरण गराउनुपर्नेछ । यसको बारेमा सकारात्मक कुरा नै भयो,’ उनले भने ।

सम्झौता नवीकरण गर्ने तयारी रहेको उनले बताए । ‘फेरि नयाँ सम्झौतासहित नवीकरण गर्ने तयारी भएको छ । यसबारेमा कुनै समस्या छैन । रंगशाला भत्किँदैन,’ उनले भने, ‘राज्यको धेरै लगानी भएको छ । दुवै राज्यकै निकायहरू हुन् । त्यसैले भत्काउने कुरा हुँदैन । नवीकरण गरेर लिजमा चाहिँ दिनुपर्छ ।’

खेलकुदमन्त्री पोखरेलले रंगशाला निर्माणमा राज्यको ठूलो लगानी खर्च भइसकेको पनि बताए । त्रिविले विश्वविद्यालयको जग्गामा रहेका विभिन्न १८ संस्थालाई त्यहाँबाट हट्न आइतबार (वैशाख १३) ‘अल्टिमेटम’ दिएको थियो । त्रिवि र क्यानबीच सम्झौता भएको २५ वर्षीय लिजको अवधि यही वैशाख मसान्तमा सकिँदै छ ।

प्रतिक्रिया