काठमाडौँ, ७ फागुन ः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले राष्ट्रिय समाचार समिति (रासस)लाई सुदृढ, प्रभावशाली एवं सूचना स्रोत वा बैंकका रुपमा स्थापित गर्न चाहेको बताएका छन् ।
राज्यको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष समारोहको यहाँ आज उद्घाटन गर्दै मन्त्री गुरुङले व्यवस्थापनलाई सृदृढ गर्दै सही, गुणस्तरीय, वस्तुपरक, तथ्यपरक तथा रुपान्तकारी समाचार सम्प्रेषण गर्न राससलाई आग्रह गरे । संस्था रुपान्तरण गर्नका निम्ति साठीवर्षे समीक्षासहितको योजना र रणनीतिक कार्ययोजना तयार गर्न आग्रह गरे ।
राससमा पछिल्लो समय अस्थायी कर्मचारी, रासस विनियमावली र कर्मचारी वृत्ति विकासमा देखिएको समस्या छलफल एवं वार्ता गरी जतिसक्दो चाँडो समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै यस्तो विषम परिस्थितिमा अस्थायी कर्मचारी एवं पत्रकारलाई अवकाश नदिइने बरु सुरक्षा दिइने स्पष्ट गरे । उनले कर्मचारी एवं पत्रकारको क्षमता विकास र वृत्तिविकासका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन दिँदै उहाँहरुलाई पनि आफू रुपान्तरित हुन र संस्थाको गौरव र पहिचान कायम गर्न सुझाव दिए ।
अर्काे प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई परिवर्तन गरी अब ‘समृद्धिका लागि सञ्चार’ बनाउने तयारी भइरहेको बताए । उनले पछिल्लो समय सामाजिक सञ्जालनमा देखिएका विकृतिलाई हटाउँदै थप व्यवस्थित गर्नका लागि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका–२०७७’ ल्याउने तयारी गरिएको जानकारी पनि दिए ।
मन्त्री गुरुङले श्रमजीवी पत्रकारका समस्या समाधान गर्दै पत्रकार प्रेस पास प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्थाको अन्त्य गरी पाँच–पाँच वर्षमा नवीकरण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताए । उनले सरकार सधैँ प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताउँदै सञ्चारमाध्यममा कार्यरत पत्रकारको पेशागत सुरक्षाका निम्ति सरकार प्रतिबद्ध रहेको दृढता व्यक्त गरे । उनले भने, “अधिकारको निम्ति पत्रकारिता क्षेत्रबाट कसैले पनि आन्दोलन गर्न नपरोस्, त्यसका निम्ति सरकार पत्रकारका निम्ति प्याकेजमा काम गर्न चाहन्छ, ।”
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले राससको सेवालाई देशभर पु¥याउनका लागि देशभरका ७५३ वटै स्थानीय तहमा समचारदाता राख्न सुझाव दिए । राससले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नका लागि तालीमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । विधि र प्रतिस्पर्धाबाट अगाडि बढे मात्र राससको हित हुने जनाउँदै उहाँले आन्दोलन र तालाबन्दीले रासस सञ्चालन हुन नसक्ने स्पष्ट गरे ।
राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको विकासका लागि कर्मचारी सङ्घ–सङ्गठनले राखेका जायज माग पूरा गर्न रासस प्रशासन कटिबद्ध रहेको बताए । महाप्रबन्धक शर्माले रासस कार्ययोजनाका साथ अघि बढ्ने बताउँदै यसका सेवा सबै मिडियासमक्ष पु¥याई राससलाई स्थापित तथा पहिचान वृद्धि गराइने प्रतिबद्धता व्यक्त गरे । प्रदेश कार्यालयमा कर्मचारी दरबन्दी कम हुँदा तथा वाग्मती र कर्णाली प्रदेशमा कार्यालय नहुँदा काम गर्न समस्या परेको अवगत गराउँदै महाप्रबन्धक शर्माले सबै स्थानीय तहमा समाचारदाता राख्न सकेमा राससले छलाङ मार्ने बताए ।
राससका कार्यकारी व्यवस्थापक उत्तम सिल्वालले राससले चाँडै श्रव्यदृश्य सेवा दिन लागेको जानकारी दिए । राससका समाचार धेरै सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गर्दै आएको र यसलाई थप गुणस्तरीय बनाउनका लागि संस्था लागेको उनको भनाइ थियो । कार्यकारी व्यवस्थापक सिल्वालले अरु भाषामा समेत राससले समाचार सम्प्रेषण गर्न खोजेको जनाउँदै त्यसका लागि सरकारको साथ र सहयोगको खाँचो रहेको बताए ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (रासस) का अध्यक्ष प्रेमप्रसाद उपाध्यायले राससको विनियमलाई संशोधन गरेर अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछानेले कर्मचारीलाई हित हुने खालको विनियमावली नआउँदा समस्या परेको बताए । “कर्मचारीका पक्षमा विनियमावली नआउँदा धेरै कर्मचारीको वृत्तिविकास रोकिँदै गएको छ, यसका बारेमा सम्बन्धित निकायले पहल गर्नुपर्छ”, उनले भने । नेपाल पत्रकार महासङ्घ रासस शाखाका सभापति नारायणप्रसाद घिमिरेले राससले समाचारको सङ्ख्यासँगै गुणस्तर बढाउन जोड दिनुपर्ने बताए । “सरकारले मुलुक सङ्घीयतामा गएसँगै राससलाई पनि सङ्घीयतामा लैजानुपर्छ”, उनले भने ।
निजी क्षेत्रका दुई समाचार समिति एकापसमा गाभिएर २०१८ फागुन ७ गते रासस स्थापना भएको हो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरणको काम गर्दै आएको छ । विसं २०१८ फागुन ७ गते निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो । ‘रासस ऐन २०१९’ जारी भएपछि राष्ट्रिय समाचार समिति एउटा अविच्छिन्न उत्तराधिकारवाला स्वायत्त संस्थाका रुपमा क्रियाशील छ ।
राससका संस्थापक रामराज पौड्याल हुन् । उनको अध्यक्षतामा नेपाल संवाद समितिका गोविन्द वियोगी तथा सगरमाथा संवाद समितिका मणीन्द्रराज श्रेष्ठ यसका संस्थापक सदस्य थिए । राससले हाल मुलुकको सङ्घीय संरचनानुकूल सातै प्रदेशमा कार्यालय स्थापना गरेको छ । वाग्मती र कर्णाली प्रदेशमा बाहेक सबै प्रदेशमा राससका आफ्नै कार्यालय तथा अन्य जिल्ला कार्यालय भवन छन् ।