गायक सञ्जीव पराजुलीलाई बाल्यकालमा रेडियो खूब प्रिय थियो । रेडियोमा बजेका हिन्दी र नेपाली गीत ध्यान दिएर सुन्थे । ‘रेडियोमा सुनेका गीत गाउने कोसिस गर्थें,’ उनी भन्छन्, ‘मैले गीत गाएको सुनेर छिमेकी दिक्काउने पो हुन् कि ? भन्ने डर लाग्थ्यो ।’ सानोमा लज्जालु स्वभावका थिए । कसैले ‘गीत सुनाऊ’ भन्दा लाजले भुतुक्कै हुृन्थे । जसोतसो गीत सुनाउँथे । सुन्नेले उनको स्वर मन पराएर फेरि गाउन भन्थे । ‘मेरो आवाज मन पराएर फेरि गाउन लगाउँथे,’ उनी भन्छन्, ‘म भने लाजले भुतुक्के हुन्थेँ । सबैको अगाडि गीत गाउन लजाउँथेँ ।’
विराटनगरमा जन्मे÷हुर्केका सञ्जीवले आफ्नो लजाउने बानी हटाउन स्कुलमा गीत गाउन थाले । ‘स्कुलमा हुने हरेक सांगीतिक कार्यक्रममा भाग लिन्थेँ,’ उनी सम्झन्छन् । गीत–संगीतको भोक मेटाउन एसएलसीपछि विराटनगरमा
स्वर संगम संगीतालयमा भर्ना भए । त्यहाँ सात वर्ष शास्त्रीय संगीत सिके । ‘त्यतिबेला ब्यान्ड प्रचलनमा थिए,’ उनी सुनाउँछन्, ‘मेरा साथीहरूको पनि ब्यान्ड थियो । उनीहरूसँगै ब्यान्डमा गाउँथेँ ।’ सञ्जीवले विभिन्न ब्यान्डसँग मिलेर थुप्रै्र गीत गाए । आफ्नो गायन कलामा निखार ल्याउँदै गए । ‘विभिन्न ब्यान्डसँग गीत गाउँदा गायन अभ्यास हुँदै गयो,’ उनी भन्छन्, ‘गायन कलामा निखार आउँदै गयो ।’
आफ्नो गायन कलालाई झन् तिर्खान चाहन्थे, उनी । आमाबुबा भने छोराको अवस्था देखेर चिन्तित थिए । ‘त्योबेला गीत–संगीत मात्र गरेर बाँच्न निकै गाह्रो थियो,’ उनी भन्छन्, ‘तर, मलाई संगीत क्षेत्रमा लाग्न केही कुराले पनि रोक्न सकेन ।’ गायनसँगै अध्ययनलाई पनि निरन्तरता दिन उनी विराटनगरदेखि काठमाडौँ आए । शंकरदेव क्याम्पसमा स्नातकोत्तर पढ्न थाले । कालीमाटीको मञ्जुश्री महाविद्यालयमा दुई वर्ष संगीत पढे । ‘मलाई औपचारिक शिक्षा लिनु मात्र थिएन,’ उनी भन्छन्, ‘संगीत क्षेत्रमा केही गर्नु थियो ।’
सन् २००५ मा ‘नेपाली तारा’को पहिलो सिजन सुरु भयो । उनलाई कार्यक्रममा भाग लिन मन लाग्यो । अडिसन दिए, छनोट भए । तर, उत्कृष्ट २० बाट बाहिरिए । नेपाली ताराबाट आउट भए पनि उनले आफ्नो सांगीतिक यात्रा भने त्यसै कार्यक्रमबाट सुरु गरे । ‘त्यस कार्यक्रममा उत्कृष्ट २० भन्दा अगाडि बढ्न सकिनँ,’ उनी भन्छन्, ‘तर, सोही क्रममा रेडियो नेपालमा स्वर परीक्षा दिने अवसर मिल्यो । छनोट भएँ ।’
त्यसताका उनी ग्राफिक डिजाइनरका रूपमा जागिर गर्थे । स्वर परीक्षामा पास हुँदा उनले ‘देश हाम्रो कति राम्रो’ बोलको गीत पुस्कार स्वरूप रेकर्ड गराउने मौका पाए । पछि उनले ‘तिमीले खोजेजस्तो मान्छे’ गीत रेकर्ड गरे । ‘त्यो गीत प्राइभेट स्टुडियोमा रेकर्ड गरेँ,’ उनी सुनाउँछन्, ‘गीत रेकर्ड गराउन त्यतिखेर १२ हजार रुपैयाँ लागेको थियो । त्यो पैसा एक वर्षको तलबबाट जम्मा गरेको थिएँ ।’
गीत–संगीतबाट मात्र गुजारा चलाउन सहज थिएन । भविष्यको खोजीमा उनी अस्ट्रेलिया पुगे । ‘गीत–संगीतलाई निरन्तरता दिन पनि पैसा चाहिने भयो,’ उनी सुनाउँछन्, ‘त्यसैले विदेशिन बाध्य भएँ ।’ विदेशमा भए पनि उनले आफ्नो संगीतको तिर्खालाई मर्न दिएनन् ।’ अनलाइन क्लास लिइरहन्थे । कर्मथलो अस्टे«लिया बनाए पनि बिदामा नेपाल आउँदा गीत रेकर्ड गराउँथे । ‘एउटा कुरा भनम’, ‘झिलीमिली तारा’, ‘चाहनामा’, ‘झम्केफुली रेलीमाई’ लगायत थुप्रै गीत उनले अस्ट्रेलियामा रेकर्ड गराएका थिए । ‘अस्ट्रेलियाबाटै एल्बम ‘उडान’ निकालेको हुँ,’ उनी भन्छन् ।
१६ वर्षे सांगीतिक यात्रामा उनले पाँच दर्जनभन्दा बढी गीत गाएका छन् । ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’लगायत चर्चित गीतमा उनको स्वर रहेको छ । ‘सुनाए’, ‘त्यो सपना’ एल्बम पनि निकालेका छन् । मीठो स्वरका लागि थुप्रै अवार्ड पाइसकेका छन् । ‘स्रोता-दर्शकमाझ चिनिन पाउँदा खुशी लाग्छ,’ उनी भन्छन्, ‘दाम नकमाए पनि नाम भने राम्रै कमाएको छुजस्तो लाग्छ ।’