संविधान सभा सदस्य अशोक कोइरालाको निधन

कोइराला १९ वर्ष मोरङ कांग्रेसको सभापति बनेका थिए
राम्रो अनलाइन     ०५ चैत २०७७, बिहिबार
संविधान सभा सदस्य अशोक कोइरालाको निधन

काठमाडौं । नेपाली कांग्रेस नेता, संविधानसभा सदस्य अशोक कोइरालाको निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा मृत्यु भएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले जानकारी दिए । उनी पूर्वप्रधानमन्त्री तथा तत्कालिन कांग्रेस सभापति सुशील कोइरालाका भाइ हुन् । कांग्रेस मोरङका पुराना नेता अशोकको बुधबार राति निधन भएको हो ।  

७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिला मेयर पनि हुन । उनी राष्ट्रिय सभा सदस्य पनि भए । अहिले पनि उनी कांग्रेस महासमिति सदस्य थिए ।

अशोक नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक हुन् । शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष थिए ।  अशोक रामचन्द्र पौडेल र कांग्रेस सभापति शेरबहादुर देउवाका दौंतरी हुन् ।

उनका एक छोरा र एक छोरी छन् । उनको बिहीबार स्थानीय सिंघीया घाटमा अन्त्येष्टी गरिने कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले जानकारी दिए । 

प्रतिक्रिया