संवैधानिक इजलासमा सुनुवाइ सुरु, बहस गर्न टाइम कार्ड लागू

राम्रो अनलाइन     १४ जेठ २०७८, शुक्रबार
संवैधानिक इजलासमा सुनुवाइ सुरु, बहस गर्न टाइम कार्ड लागू

काठमाडौं : संवैधानिक इजलासमा संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

संसद विघटनविरुद्ध दायर रिटमा बहस गर्न टाइमकार्ड लागू गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रिट निवेदकलाई बहस गर्न १० मिनेटको समय तोकिदिएका हुन् । वरिष्ठ अधिवक्ताहरुको हकमा भने केही भनिएको छैन ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

जेठ ७ गते मध्यराति विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्चमा ३० वटा रिट दायर गरेका छन् । १९ वटा रिटमा बिहीबार एकल इजलासमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराले ती सबै संवैधानिक इजलासमा पठाउने निर्णय गरेका थिए । ११ वटा रिट संवैधानिक इजलासमा सोझै दर्ता भएका थिए । विपक्षी १४६ सांसदहरुले दायर गरेको रिट पनि संवैधानिक इजलासमै छ । सांसदहरुको रिट सुनुवाइको आठौं क्रममा राखिएको छ ।

वैकल्पिक प्रधानमन्त्रीमा दाबी नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ सात गते मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

प्रतिक्रिया