संसद्लाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ : सभामुख सापकोटा

देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन
राम्रो अनलाइन     ०५ वैशाख २०७८, आइतबार
संसद्लाई घेराबन्दी गर्ने प्रयास भइरहेको छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्लाई घेराबन्दीमा पार्ने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभालाई जीवन्त, जनमुखी र चलायमान बनाउँदै लोकतान्त्रिक, मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्ने सन्दर्भमा दृढताका साथ अघि बढ्न शुरु गर्दैगर्दा त्यहीँबाट घेराबन्दी शुरु भएको र अहिले पनि त्यो जारी रहेको सापकोटाले बताए ।  

नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय पदाधिकारीको आज काठमाडौँमा भएको पद हस्तान्तरण समारोहमा सभामुख सापकोटाले भने, “संसद्बारे अनेक खालका टिप्पणी भइरहेका छन् तर मलाई दृढ विश्वास छ कि धेरै मान्छेलाई केही समय र केही मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैँभरि भ्रममा पार्न सकिँदैन ।”

उनले महान् बहसका बीचबाट भयानक भ्रमको अन्त्य हुने र महान् सत्यको जन्म हुने उल्लेख गर्नुभयो । मुलुकमा उत्पन्न टक्कर एउटा दृष्टिकोणमा आधारित भई आएको र जुन लोकतान्त्रिक मूल्यमान्यतालाई स्थापित गर्ने कुरासँग तथा नेपाली जनताले बनाएको संविधानलाई ठीक ढङ्गले रक्षा र विकास गर्नेसँग सम्बन्धित रहेको बताए । उनले भन्नेले के भन्छन् भन्ने कुरालाई वास्ता नगरी लुरुलुरु अगाडि बढिरहेको बताए। 

“मैले जे गरिरहेको छु देशलाई सम्झेर गरेको छु, देश र जनताको अधिकतम हितमा केन्द्रित भएको छु, बुद्धि, विवेक नपुगेर त्रुटि हुन सक्छन्, तर मैले जानीजानी देश र जनताको हितविपरीत कुनै पनि काम गरेको छैन”, सभामुख सापकोटाले भने ।

उनले कसैको दबाब र प्रभावबाट मुक्त रहेर स्वतन्त्रतापूर्वक काम गर्ने स्पष्ट पारे । जनताले सुम्पेको सार्वभौमसत्ताको नीहित अधिकार खासखास बेलामा सभामुखमा केन्द्रित हुने जानकारी गराउँदै सभामुख सापकोटाले जनभावना बुझेर अघि बढ्नुपर्नेमा आफू दृढ रहेको बताए । 

सभामुख सापकोटाले मुलुकमा अहिले तटस्थको होस् भनेर चाहनेभन्दा पनि मेरो पक्षमा काम गरेन अथवा मेरो पक्षमा काम गरोस् भन्ने अन्तरनीहित भावना देखिएको बताए । उनले आफूले जिम्मेवारी सम्हालुञ्जेल देश र जनताप्रति इमान्दारिता र निष्ठाका साथ काम गर्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया