संसद्को प्रत्यक्ष प्रसारण साङ्केतिक भाषामा गर्न सांसद परियारको माग 

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
संसद्को प्रत्यक्ष प्रसारण साङ्केतिक भाषामा गर्न सांसद परियारको माग 

 

काठमाडौं–  राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद्को प्रत्यक्ष प्रसारणमा साङ्केतिक भाषाका लागि दोभासे राख्न सरकारसँग माग गरेका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै संसद परियारले सरकारसँग यस्तो माग गरेका हुन् । 

उनले संसदको गतिविधिबाट नेपालका हजारौं बहिरा समुदाय वञ्चित भएको भन्दै तत्काल संसदमा भएका गतिविधिलाई साङ्केतिक भाषाका लागि दोभासे राख्न माग गरे । उनले बहिरा समुदायले सूचना पाउने एक मात्रै आधार साङ्केतिक भाषा भएकाले त्यसको व्यवस्था गर्न माग गरे ।

सांसद परियारले सङ्घीय संसदमा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख भएको उल्लेख गरे । उनले संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ साङ्केतिक भाषामा पनि हुन आवश्यक रहेको बताए । उनले बहिरा समुदायको पनि नीति निर्माण गर्ने थलो भएकाले संसदमा भएका गतिविधि थाहा पाउनुपर्ने उल्लेख गरे ।

उनले भने, ‘नेपालमा हजारौं बहिरा समुदायहरु बसेवास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको साङ्केतिक भाषा हो । सङ्घीय संसदमा भएका सबै काम कारबाहीबाट नेपाली बहिरा समुदायहरु विमुख हुनुहुन्छ । संसद्को प्रत्यक्ष प्रसारण र रेकर्डिङ साङ्केतिक भाषामा हुने गरेको छैन । नीति निर्माण गर्ने थलो संसदमा भएका गतिविधिबाट बाहिर छन् । त्यसले गर्दा संसदमा साङकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु ।’

परियारले प्रतिनिधि सभामा पारित भइसकेको बजेटको सम्बन्धमा राष्ट्रिय सभामा छलफल गर्नुको कुनै उपादेयता नभएको बताए । उनले राष्ट्रिय सभामा बजेट बारेमा छलफल गर्नुको तात्विक अर्थ नभएको बताए । उनले बजेटका सम्बन्धमा अब पनि छलफल गर्नु खर्च गर्नु मात्रै भएको बताए । उनले सभामुख र राष्ट्रिय सभा अध्यक्षको समन्वयमा दुवै सदनबाट एकैपटक पारित गर्ने व्यवस्था मिलाउनुपर्ने जिकिर गरे ।

‘प्रतिनिधि सभाले बजेटलाई पारित गरिसकेको छ । तर फेरि राज्यका गरिब जनताले उठाएको करलाई खर्च गरेर फेरि हामिले राष्ट्रिय सभामा बजेटका बारेमा छलफल गर्नुपर्ने । जसको तात्विक अर्थ खासै देखिँदैन । संसदीय अभ्यासको एउटा प्रक्रिया होला, काम होला त्यो ठिक छ । तर राज्यको कर प्रयोग गरेर बिना कुनै उपादेयताको विषयवस्तुमा छलफल गरिनु कुनै पनि तरिकाले बुद्धिमतापूर्ण छ जस्तो मलाई लाग्दैन ।’ सांंसद परियारले भने, ‘यस सम्बन्धमा आवश्यक कानुनी प्रवन्ध अथवा आवश्यक समन्वय कम्तीमा सङ्घीय संसदका सभामुख र अध्यक्ष बसेर छलफल गरेर प्रतिनिधि सभामा छलफल भइसकेपछाडी राष्ट्रिय सभामा छलफल नहुँदासम्म त पास गर्नलाई रोक्न सकिन्छ होला नि । अथवा सँगसँगै छलफल चलाउन सकिन्छ होला नि । एउटा सभाबाट पास भएर आइसकेको कुरालाई राष्ट्रिय सभामा छलफल गरिनु नमिल्दो संसदीय अभ्यास भयो कि ? नमिल्दो कानुनी व्यवस्था भयो कि ?’

उनले कानुनी व्यवस्था नै नमिल्दो रहेको भन्दै यस सम्बन्धमा कानुनी व्यवस्थालाई सुधार गर्नुपर्नेमा जोड दिए।
 

प्रतिक्रिया