सिसडोलबासीका माग पूरा भएपछि आजबाट काठमाडौंको फोहोर उठाउन सुरु 

स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमति
राम्रो अनलाइन     २१ चैत २०७७, शनिबार
सिसडोलबासीका माग पूरा भएपछि आजबाट काठमाडौंको फोहोर उठाउन सुरु 

काठमाडौंँ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर शनिबारदेखि उठ्ने भएको छ। पटक पटक सहमति जनाउने र माग पूरा नगरिदिने गर्ने बेला बेलामा काठमाडौं उपत्यकाको फोहोर उठाउन सिसडोलबासी अवरोध गर्दै आएका छन् । 

यसपटक नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत १३ गते देखि फोहोर विसर्जनमा अवरोध गर्दै आएका थिए।

शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि उनीहरुले गर्दै आएको अवरोध हटाएका हुन् । 

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासीले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पूरा गर्ने सहमति भएको बताए।

रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि श्रेष्ठले जानकारी गराए।

ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ।

करार सेवामा नियुक्त हुने शिक्षकहरुको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिक वापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ।

यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोरमैला बिसर्जन शुरु भएपछि हालको सिसडोल ल्याण्डफिल्ड साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल शुरु गर्ने सहमति पनि भएको छ।

यस्तै फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८ ७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीन\तीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ।

उपत्यकाको फोहोर व्यवस्थापनमा भएको आवरोध हटाई फोहोर व्यवस्थापन सूचारु गर्ने सहमति पनि भएको छ । महानगरले आज बिहानैैदेखि फोहोर उठाउन सुरु गरेको छ ।   

प्रतिक्रिया